‘विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस्’

  पुष २६, २०७६

संयुक्त राष्ट्रसंघ २५ पुस : इरानमा गत मंगलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमानबारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिनुभएको हो । हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय, आइकाओलाई उद्धृत गर्दै हकले भन्नुभएको छ, “संयुक्त राष्ट्रसङ्घ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहन्छ, आइकाओको आधिकारिक भनाइ पनि यही हो ।”

हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय, आइकाओलाई उक्त विमान दुर्घटनाको सामान्य जानकारी मात्र गराइएको र यसको छानबिनको लागि आवश्यक सहयोग नमागिएको बताइएको छ । सोही कारण उक्त निकायले विमान दुर्घटनाको कारण राम्रोसँग पत्ता लागोस् भन्ने चाहेको बताइएको छ ।

हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाइ दिनुपर्ने बताएको छ । प्रवक्ता हकले उक्त विमानको दुर्घटना भएको दिनदेखि महिना दिनभित्र सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान गरी यसको प्रारम्भिक प्रतिवेदन दिन पनि इरान सरकारसँग आग्रह गरेको ।

अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत मंगलबार इरानमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा नौ जना चालक दलका सदस्यसहित १७६ जना यात्रामा रहेका थिए । ती सबै जना यात्रुको निधन भएको छ । उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान गरिरहेको जानकारी इरानले दिएको छ । इरानले बिहीबारमात्र दिएको जानकारीअनुसार सो विमानको ‘ब्ल्याकबक्स’ भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा पाइएको जानकारी पनि इरानले बिहीबार दिएको थियो । इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेको प्रारम्भिक जानकारी इरान सरकारले सार्वजनिक गरेको हो । इरानको उड्डयन सङ्गठनका प्रमुख अली अबेद्जादेले भन्नुभयो, “विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिनेगरी नै क्षति भएको पाइएको छ ।”

त्यसैगरी अहिलेसम्मको अनुसन्धानबाट विमान दुर्घटनापूर्व विमान चालकबाट त्यस्तो कुनै असामान्य खालको सन्देश प्राप्त भएको आवाज पनि प्राप्त नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको इरानी अधिकारीले बताएका छन् । इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा अनुसन्धानका लािग सूचित गरेको बताइएको छ । तर उता अनुसन्धानका लागि कुनै जानकारी नपाइएको आइकाओले जनाएको छ ।

इरानले गरेको आन्तरिक तथा प्रारम्भिक प्रतिवेदनले विमान आठ हजार फिटमाथि आकाशमा रहेको समयमा राडारसँगको सम्पर्क गुमेको र त्यो सम्पर्क गुमेको छोटो समयमै विमान दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ । इरान सरकारले गरेको यो अनुसन्धानमा प्रत्यक्षदर्शीहरुलाई पनि समेटेको छ । उनीहरुले विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको बताएका थिए ।

विमानमा आगो लागेर समस्या देखिएपछि विमान चालकले दिशा बदलेर विमानस्थलतर्फ फर्काउन खोजिएको अनुमान अधिकारीले गरेका छन् । यस तथ्यलाई पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको )द्वन्द्वको समय रहेको थियो । त्यस समय इरानले इराकमा रहेको अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र हानेको थियो ।

सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् भन्ने अपेक्षा राष्ट्रसङ्घले गरेको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया