चीन, रूस र सिरियाद्वारा आक्रमणको निन्दा

  पुष १८, २०७६

बेइजिङ, १८ पुस : चीन, रूस र सिरियाले शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने यूरोपेली सङ्घले थप हिंसा भड्किन नदिन सम्वेदनशिल बन्न आग्रह गरेको छ ।

अमेरिकाले बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इराकी जनरल सुलेमानीलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो । घटनामा सुलेमानीसहित ६ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका अन्य व्यक्तिबारे प्रष्ट जानकारी आउन सकेको छैन तर उक्त घटनामा इराकी विद्रोही नेता अबु महदी अल–मुमान्दीस पनि मारिएको इरानी एक टेलिभिजनले बताएको छ ।

अमेरिकाले सुलेमानीलाई ‘आतङ्ककारी’ समूहको नाइकेका रूपमा परिभाषित गरेको थियो । सुलेमानी विरूद्धको आक्रमणका लागि अमेरिकी राष्ट्रपतिले निर्देशन दिएको बताइएको छ । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको’ चीनको विदेशमन्त्रालयका प्रवक्ता कङ सुवाङले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । “हामीले यस घटनालाई निरन्तर हेरिरहेका छौँ । चीनले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको छ ।”

त्यसैगरी अमेरिकी उक्त आक्रमणलाई रूसले ‘गैरजिम्मेवारपूर्ण कदम’ भन्दै यसले मध्यपूर्वमा तनाव बढाएको जनाएको छ । मस्कोले इरानी जनरलको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग गरेको फोनवार्तामा भनेको कुरालाई उद्धृत गर्दै रूसी माचार स्पुटनिकले लेखेको छ, “हामीले वग्दादमा अमेरिकी हवाई आक्रमणमा भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा तनाव थप बढाउने देखेका छौँ । सुलेमानीले इरानको राष्ट्रियताका बिषयलाई संरक्षण गर्न विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।”

सिरियाले पनि सुलेमानी विरूद्धको कारबाहीलाई ‘अमेरिकी आपराधिक आवेग’ बताएको छ । यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै गम्भीर चासो व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “इराकमा विगत केही हप्तादेखि भएका हिंसात्मक तथा उत्तेजनात्मक गतिविधि र प्रतिकारका घटनालाई रोक्नुपर्छ । आगामी दिनमा कुनै पनि द्वन्द्वका घटनालाई अन्त्य गर्नुपर्छ ।”

विश्वले ‘अर्को खाडी युद्ध’ सहन सक्दैन ः राष्ट्रसङ्घ प्रमुख
यसैबीच, इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घले खाडी क्षेत्रमा अर्को युद्ध धान्न नसकिने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाले इराकको राजधानीस्थित एक अन्तरराष्ट्रिय विमानस्थल नजिकै अमेरिकाद्वारा गरिएको आक्रमणपछि त्यस क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै शुक्रबार चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन ।”

“राष्ट्रसङ्घका महासचिवले निरन्तररूपमा खाडीमा भइरहेको तनावलाई कम गर्न निरन्तर पैरवी गरिरहनुभएको छ,” गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ । “यो अवस्थामा विश्वका नेताले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्नेछ । विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन ।”

संयुक्त राज्य अमेरिकाले शुक्रबार नै आफ्नो सेनाले कासिम सुलेमानीलाई मारेको घोषणा गरेको थियो । सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा रहँदै आएको र उक्त सुरक्षा बलले देश बाहिर गोप्य गतिविधि गर्ने गरेको अमेरिकी दावी छ ।

जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आइएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेको पनि चर्चा हुने गरेको छ । उहाँले सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा पनि लडेको अनुभव रहेको थियो ।

तपाईको प्रतिक्रिया