उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवासमेत अवरुद्ध

  पुष १७, २०७६

बैतडी, १७ पुस (रासस) : मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो ।

गए रातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताउनुुभयो । हिमपातले बाहिर निस्कनसमेत मुस्कील भएको सुर्नया–८ का वीरबहादुर बोहराले जानकारी दिनुभयो । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपातले विभिन्न रोगकीरासमेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभयो ।

बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

रुकुमपूर्वमा पुनः हिमपात, चिसोले जनजीवन प्रभावित
रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ । रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो । जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ । पानी र हिमपातका कारण जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

प्रदेश नं ५ को एकमात्र हिमाली जिल्लाको रूपमा रहेको रुकुमपूर्व मङ्सिरको अन्तिम साता हिमपात भएको थियो । जिल्लाका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाले किसान भने हर्षित भएका छन् । सिँचाइसुविधा नभएको र सधैँ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानलाई भने बेला–बेलामा हिमपातसँगै भएको वर्षाले ठूलो राहत मिल्ने गरेको सिस्ने गाउँपालिका वडा नं ५ का वसन्त बस्नेतले बताउनुभयो ।

हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् त कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको छ । रुकुमपूर्व का सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न उच्च तथा लेकाली क्षेत्रमा भएको हिमपातले चिसोे निकै बढेको स्थानीयवासीले बताएका छन् । हिमपात हँुदा मानिसलाई मात्र नभई पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका टीका घर्तीले बताउनुभयो । हिमपात हँुदा मानिसलाई पनि बाहिर निस्कन, हिँडडुल तथा दैनिक कामकाज गर्न समस्या भएको उहाँले बताउनुभएको छ । यतिबेला जिल्लावासी जङ्गलबाट ल्याएको दाउरा बालेर आगो ताप्दै बसिरहेका छन् ।

चिसो बढेपछि कम्बल वितरण
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१२ का ज्येष्ठ नागरिकलाई चिसोबाट बच्नका लागि स्थानीय सरकारले न्यानो कम्बल वितरण गरेको छ । गाउँपालिकाको वडा नं १२ कोलका सामाजिक सुरक्षाभत्ता पाउने ४५ ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति एक÷एक न्यानो कम्बल वितरण गरेको हो ।

प्रदेश नं ५ को एक मात्र हिमाली जिल्लाको रूपमा रहेको रुकुमपूर्वमा दोस्रोपटक आज हिमपात भएसँगै बढेको चिसोले स्वास्थ्यमा समस्या नआओस् भन्ने उद्देश्यसहित समाजिक सुरक्षाभत्ता पाउने वडाका सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडा नं १२ का वडाध्यक्ष गङ्गा पुनले बताउनुभयो । न्यानो कम्बल पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् ।

यसैगरी सो वडाअन्तर्गतका सात विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । वडामा रहेका सात विद्यालयका २५ विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । शैक्षिक सामग्री र विद्यालय पोशाक नभएकै कारण कतिपय विद्यार्थी विद्यालयमा नियमित नहुने समस्या हुने गरेको बताउँदै उहाँले यो समस्या समाधानका लागि स्थानीय सरकारको रूपमा रहेको वडापालिकाले विद्यार्थीलाई सहयोग गरेको उहाँले बताउनुभयो । शैक्षिक सामग्रीसँगै विद्यालय पोशाक वितरण गरेपछि विद्यार्थीलाई केही हदसम्म भए पनि राहत मिल्ने अध्यक्ष पुनको भनाइ छ ।

त्यस्तै वडास्थित सात विद्यालयलाई एक÷एक थान ल्याप्टप, दुई विद्यालयलाई डिजिटल हाजिरी पनि प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । वडापालिकामा आएको रु आठ लाख ५० हजार बजेटबाट ज्येष्ठ नागरिकलाई कम्बल वितरण तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया