देउडाबाट सुरु भयो सुदूरपश्चिममा भ्रमण वर्ष

  पुष १६, २०७६

धनगढी, १६ पुस (रासस) : ‘अपि शैपाल शिरको टोपी, मालिका सिरानी । बोली भाखा मुटु हजुर संस्कृति परानी…।’ सुदूरपश्चिमका चर्चित देउडा गायक सूर्यविरही साउदले आज यहाँ भएको भ्रमण वर्ष २०२० को शुभारम्भको विषेश समारोहमा प्रस्तुत देउडा गाउँदाको परिवेश देउडामय बन्यो ।

मिठोस्वर र सङ्गीतमा देउडा प्रस्तुत भइरहँदा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यसहितका अन्य सर्वसाधारणलाई गोलबन्द भई देउडा खेलेर भरपुर आनन्दमा रमाउने अवसर समेत दियो ।

सुदूरपश्चिम प्रदेशको प्रकृतिको सुन्दरता र देवस्थलको महत्व दर्साएको प्रस्तुत गीतको रचना साउदले गर्नुभएको हो । गायक साउदलाई गायिक निर्माला खत्रीले पनि सुरिलोस्वरमा साथ दिइरहनु भएको थियो । मञ्च अगाडिकोस्थलमा गोलबन्द भएर खेलिएको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभाका सदस्यसहितको देउडाको ठूलो समूहलाई उपस्थित अन्य दर्शकले पनि उमङ्गका साथ मच्चीमच्ची साथ दिएका थिए ।

विशेष समारोहमा पालैपालो प्रस्तुत पहाडीमूलका बासिन्दामाँझ चर्चित र लोकप्रिय छलिया, भुवा, गौरा र हुड्के नाच होस् कि तराईवासीको लोकप्रिय सखिया, मुङ्ग्रहवा, होली नृत्यले सहभागीलाई फरक–फरक लोक संस्कृतिमा रमाउने अवसर पनि प्रदान ग¥यो ।

तीन हप्ता देखिको निरन्तरको शीतलहरले बढेको चिसोले कठिनाई भोक्दै आएका स्थानीय सर्वसाधारणले आज नेपाल भ्रमण वर्षको शुभारम्भ भइरहँदा आकाश खुला भएर घाम लागेपछि भएको न्यानोको अनुभूतिसँगसँगै र लोक संस्कृतिमा पनि रमाउन पाएका हुन् । समारोहमा सुदूरपचिम प्रदेशका पर्यटन सद्भावना दूतमा नियुक्त कलाकार रवि ओडको प्रस्तुतिले थप रौनक दिएको थियो ।
समारोहमा साहित्यकार पदमराज जोशीले सुदूरपश्चिको संस्कृति,जीवन पद्धति र परिचय झल्किने कविता वाचन गर्नुभएको थियो । देउडा खेलमा रमाएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्ष२०२०को शुभारम्भ गर्दै सुदूरपश्चिमको कला र संस्कृति अन्य क्षेत्र भन्दा विशिष्ट र फरक पहिचानको रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो क्षेत्रको लोकसंस्कृति र कलाको विकास गर्दै पर्यटकसमक्ष यस्ता कला र संस्कृति पस्किनसक्ने वातावरण मिलाउन सकिएमा प्रदेशमा समृद्धि आउँछ ।” मुख्यमन्त्री भट्टले प्रदेशको पर्यटन क्षेत्रको विकासको लागि सरकारले हिमालदेखि तराईसम्मका पर्यटकीय क्षेत्रलाई जोड्दै अघि ल्याएको पाँच वटा पर्यटकीय कोरिडोरको अवधारण कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडलगायतले भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि स्थानीय बजारमा विभिन्न जातजातीको लोक संस्कृति झल्किने झाँकीसहितको प्रभातफेरीले गरिएको थियो । प्रभातफेरीमा प्रहरी, कर्मचारी, क्याम्पसका छात्रछात्रा, नागरिक समाजका अगुवा, होटेल तथा पर्यटन व्यवसायी, प्रदेश सरकारकामन्त्री प्रदेशसभाका सदस्यलगायत सहभागी थिए ।

यसैबीच कैलालीको सीमा नाका त्रिनगरबाट आज नेपाल भित्रिएका भारतीय पर्यटकलाई सीमा नाकामै आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड र उप प्रमुख सुशीला मिश्र भट्टले संयुक्त रूपमा नेपाली टोपी, खादा र टीका लगाएर स्वागत गर्नुभयो ।

उप–महानगरपालिकाले भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्यटकको आवागमनको सुविधाका लागि त्रिनगर भन्सार नाकाबाट बेहँडाबावा र भादागाउँ ‘होम स्टे’ सम्म निःशुल्क बससेवा सञ्चालन गरेको छ । यस बाहेक पर्यटकका लागि सहायता कक्ष, फ्रिवाइफाइ लगायतको सुविधासमेत उपलब्ध गराइएको छ । धनगढीदेखि झण्डै २० किमी उत्तरपूर्वी क्षेत्रमा पर्ने बेहँडाबाबा क्षेत्र कैलालीको मुख्य धार्मिकस्थलको रूपमा रहेको छ । सीमावर्ती क्षेत्रका भारतीयहरूले आफ्नो कूल देवताका रूपमा बोहँडाबाबालाई लिने गरेका छन् ।

यस्तै थारु समुदायको रहनसहन, वेशभूषा, खानपिन,लगायतका गतिविधिको अध्ययन अवलोकन गर्न सकिने क्षेत्रका रूपमा ‘भादा गाउँ होम स्टे‘(भादा गाउँ घरवास)पर्यटकका लागि आकर्षक क्षेत्र मानिन्छ । धनगढीदेखि झण्डै १८किलोमिटरको दुरीमा यो गाउँ रहेको छ ।

तपाईको प्रतिक्रिया