चार अर्ब लगानीमा ३०० श्ययाको क्यान्सर अस्पताल

  पुष १६, २०७६

सुरुङ्गा (झापा), १६ पुस (रासस) : झापाको विर्तामोडमा आजबाट अत्याधुनिक उपकरणसहितको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ । रु चार अर्बको लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो । कूल ३०० श्ययाको अस्पतालले ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षीय पदम मिश्रलाई निःशुल्क उपचार गर्दै सेवा शुरु गरेको हो ।

पूर्वलाई ‘मेडिकल हब’ बनाउने उद्देश्यसहित क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक दुर्गा प्रसार्इंले बताउनुभयो । अस्पताल उद्घाटन कार्यक्रममा सञ्चालक प्रसार्इंले भन्नुभयो, “अब क्यान्सरको उपचारका लागि नेपाली विदेश जानुपर्दैन । अत्याधुनिक उपकरणसहित नेपालमै पहिलो पटक क्यान्सरको उपचारका लागि चाहिने उपकरणसहित अस्पतालले सेवा शुरु गरेको छ ।”

विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा आएको पूर्वाञ्चल क्यासर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले लामो समयसम्म भारतको मेदान्ता अस्पतालमा काम गर्दा त्यहाँ धेरै क्यान्सरका नेपाली बिरामी भेटे, उनीहरू सबै नेपालमा क्यान्सरको राम्रो उपचार नभएका कारण भारत पुगेका हुन् । तर, अव क्यान्सरको उपचारका लागि कोही पनि भारत जानुपर्दैन सबै प्रकारको उपचार यही हुन्छ ।”अस्पतालले रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार गर्ने बताइएको छ । डा निराजन पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो ।

काठमाडौँबाहिर पनि क्यान्सरको उपचार सम्भव हुने भन्दै अव पूर्वका बिरामीलाई धेरै फाइदा हुने उहाँले धारणा राख्नु भयो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वकै गहना भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया