बर्दियाले एक लाख पर्यटक भित्र्याउनु पर्छ : मुख्यमन्त्री पोख्ररेल

  पुष १६, २०७६

गुलरिया, १६ पुस (रासस) : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा बर्दियाले एक लाख पर्यटक भित्र्याउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बर्दियाको पर्यटकीयस्थल ठाकुरद्वारामा आज आयोजित ‘पर्यटन वर्ष २०२०’ को सुभारम्भ कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज विश्व मानचित्रमा जैविक विविधता संरक्षण र पर्यापर्यटनको दृष्टिकोणले छुट्टै तवरले परिचित भइसकेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेश नं ५ का बर्दियासहित सबै जिल्लामा पर्यटनका लागि पर्यटन संस्कृतिको आवश्यकता पर्ने भएकाले पर्यटन संस्कृति विकास र पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले आन्तरिक पर्यटन बाह्य पर्यटनको आधार भएकाले आन्तरिक पर्यटनको विकास गर्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । स्थानीय जनताको आर्थिकस्तर वृद्धि गर्ने कार्यक्रम बनाएर लागू गर्न जोड दिँदै उहाँले स्थानीय सरकारले यसतर्फ विशेष रूपमा छलफल गरी योजना बनाउन आग्रह गर्नुभयो ।

उहाँले प्रदेश नं ५ मा थारू, मगरलगायत विभिन्न जातजातिको संस्कृतिले धनी रहेको, लुम्बिनी, स्वर्गद्वारीलगायत तपोवन रहेको र त्यसको संवद्र्धन–प्रवद्र्धनका साथै प्रचारप्रसार पनि गर्न आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले होटेलमात्रै खोलेर पर्यटन क्षेत्रको विकास नहुने र पर्यटन भित्र्याउन र लामो समयसम्म टिकाइराख्न पर्यटकमैत्री वातावरणसहितको विशेष प्याकेज बनाएर आगाडि बढ्नुपर्ने पनि जोड दिनुभयो । कार्यक्रम उद्घाटनमा ५ नं प्रदेशका विभिन्न जिल्लाबाट आएका विभिन्न वेशभूषासहितका नाच, झाँकी तथा ¥याली प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया