दूतावासमा आक्रमण भएपछि इरानलाई ट्रम्पको चेतावनी

  पुष १६, २०७६

वासिङटन, १६ पुस (रासस/सिन्ह्वा) : इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गरबार फोन गरेर घटनाप्रति आपत्ति जनाउनु भएको हो ।

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा इरान निकटका इराकी प्रदर्शनकारीले आक्रमण गरेका हुन् ।

टेलिफोन कुराकानीका क्रममा दुई नेताले क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले इराकमा रहेका अमेरिकी नागरिकको सुरक्षामा विषेश जोड दिनुभएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

उहाँले इरानी पक्षले अमेरिकी दूतावासमा ‘नियोजित आक्रमण’ गराएको आरोप पनि लगाउनु भएको वक्तव्यमा जनाइएको छ ।

घटनापछि अमेरिकी रक्षामन्त्री मार्क इस्परले आक्रमण भएको दूतावासका लागि थप सुरक्षाकर्मी पठाइसकिएको बताउनु भएको छ ।

अमेरिकी सुरक्षाकर्मीले आइतबार इराक र सिरियाका पाँच ठाउँमा आक्रमण गरेका थिए । इराकी अर्धसैन्य बल हजबुल्लाहको नियन्त्रणमा रहेका ठाउँमा अमेरिकी सुरक्षाकर्मीले आक्रमण गरेका हुन् ।

अमेरिकी सहयोगमा गत हप्ताको अन्त्यमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकू) मारिएपछि बग्दादमा इराननिकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका स्थानीय सञ्चारमाध्यमले देखाएका छन् ।

केही दिनअघि हवाई आक्रमणमा इराकी नागरिक मारिएपछि आक्रोशित प्रदर्शनकारीले राजदूतावासको पर्खालमा आगजनी गर्दै राजदूतावास परिसरमा ढुङ्गामुढासमेत गरेका थिए । उनीहरूले अमेरिका विरोधी नारासमेत लगाएका बताइएको छ ।

राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया