मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा : घिसिङ

  पुष १२, २०७६

काठमाडौँ, १२ पुस : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उनले अर्काे वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गरे । आज राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा उनले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी गराउनुभयो ।

मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुआत भएको थियो । त्यसको एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट नपुगेको जानकारी दिँदै उनले चालु आर्थिक वर्षभित्रमा त्यसको क्षमता दुई हजार मेघावाट नाघ्ने बताए । यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उनले प्रशंसा गर्नुभयो । उनले भने, ‘नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने चरणमा पुगेका छौँ, लोडसेडिङ अन्त्य मात्रै हाइन, बर्सातको समयमा विद्युत्मा आत्मनिर्भर भइसकेको छ, अर्को वर्षदेखि विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुँदैछौँ ।’

उनले गएको बर्सातमा केही विद्युत् निर्यात गर्न सफल भएको जानकारीसमेत दिए । हिउँदयाममा केही आयात गर्नुपर्ने भए पनि बर्सातमा भने आयातभन्दा धेरै निर्यात हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

विद्युत् चुहावट हुनबाट रोक्नु अर्काे चुनौती रहेको भन्दै उनले त्यसलाई रोक्न निरन्तर लागिरहेको जानकारी दिए । तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको र त्यसबाट वार्षिक सात अर्ब बढी थप आम्दानी गरेको उनको भनाइ छ । अहिले प्राधिकरण पूर्वाधार लगानी गर्ने हैसियतमा पुगेको र सरकारले छुट्याएको बजेटबाहेक प्राधिकरण आफैँ १० अर्ब लगानी गर्न सक्ने अवस्थामा पुगेको जिकिर गरे । तीन वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने सरकारी अभियान सफल पार्न प्राधिकरण क्रियाशील रहेको उनले बताए ।

प्रशासनको मनोबल तल छ, कृपया बढाउनस् : डा रुइत

सो कार्यक्रममा वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतले मुलुकको प्रशासन क्षेत्रको मनोबल उच्च बनाउने बेला आएको बताए । ‘प्रशासनिक क्षेत्रको मनोबल तल छ, कृपया मनोबल बढाउन लाग्नुस्, तपाईंहरू अगाडि नबढी देश अगाडि बढ्दैन,’ डा रुइतले भने ।

सो क्रममा उनले आफ्नो प्रयासमा सुलभ आई केयर विकास गरेको जानकारी दिँदै अहिले उक्त प्रविधि विकसित मुलुकले प्रयोग गरेको जानकारी दिए । डा रुइतले नेपालमा उत्पादन भएका डाक्टरहरू संसारका डाक्टरसँग कुम मिलाएर प्रस्तुत हुने अवस्थामा पुगेको जिकिर गरे ।

नेपालमा आँखाको लेन्स उत्पादनको काम शुरु गर्दा बाहिर २०० डलर पर्नेमा यहाँ आविष्कार गरेपछि सस्तो भएकाले मोतियाबिन्दुका बिरामीको शल्यक्रियाका लागि ठूलो सहयोग मिलेको उनले बताए ।

तपाईको प्रतिक्रिया