प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार प्रदान

  पुष १२, २०७६

काठमाडौँ, १२ पुस : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘सुन्दर नेपाल खुशी नेपाली’ फोटो प्रतियोगितामा प्रथम हुने मिथुन कुँवरलाई ४० हजारसहित शुक्रबार पुरस्कृत गरेको छ ।

प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका प्रवीण श्रेष्ठलाई २५ हजार तथा तेस्रो हुने दयासागर केसीलाई १५ हजारसहित पुरस्कृत गरिएको हो । सान्त्वना पुरस्कार प्राप्त गर्ने स्कन्द गौतमलाई १० हजारसहित पुरस्कार प्रदान गरिएको छ । देशभरबाट २२१ फोटोग्राफरका करिब एक हजार फोटो प्राप्त भएको प्रतियोगितामा नेपालका अग्रज फोटोग्राफर बखतबहादुर चित्रकार, मङ्गलमोहन श्रेष्ठ, पुष्प चित्रकार, श्रीधर मानन्धर र श्याम चित्रकारलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट छनोट भएका विजेतालाई पुरस्कार प्रदान गर्दै प्रतिष्ठानका कुलपति के के कर्माचार्यले फोटोग्राफी ललितकलाको महत्वपूर्ण विधा रहेको बताए । यस किसिमको प्रदर्शनीले देशको बारेमा महत्वपूर्ण जानकारी दिनुका साथै सहभागी कलाकारलाई थप प्रोत्साहन पुग्ने उनले बताए ।

उपकुलपति गोपाल चित्रकारले देशभर छरिएर रहेका फोटोग्राफरको प्रतिभालाई उजागर गर्न यस किसिमको प्रतियोगिता र प्रदर्शनी महत्वपूर्ण रहेकाले यसलाई प्रतिष्ठानले निरन्तरता दिने बताए । प्रतियोगितामा सहभागी कलाकारले देशको सामाजिक, भौगोलिक, सांस्कृतिक तथा धार्मिक सम्पदाका साथै देशको समृद्धि झल्कने ७० फोटो प्रदर्शन गरेका छन् । नेपाली कलावृत्तमा देखिँदै आएका विविध कलाआयामलाई समेटेर गरिएको प्रदर्शनी यही पुस १७ गतेसम्म नक्सालमा चल्नेछ ।

तपाईको प्रतिक्रिया