मार्तडी, ७ पुस : जिल्लामा वर्षासँगै हिमपात भए पनि यहाँका जनजाति समुदायका मानिस बेँसीतिर झर्न थालेका छन् । गर्मीयाम शुरु भएसँगै लेकाली भेगमा जाने स्थानीयवासी चिसो शुरु भएपछि अधिकांश भेडापालन व्यवसाय गर्दै आएका उनीहरू अछाम लगायतका जिल्लामा झर्ने गरेका छन् ।
बर्सेनि उनीहरूले भेडापाठालाई लेक र बेँसीमा लाने गरेका छन् । गर्मी छल्नका लागि लेकाली भेगमा गएका स्थानीयवासी चिसो बढ्न थालेकाले उनीहरू यतिखेर भने बेँसीमा धमाधम जान थालेको बूढीनन्दा नगरपालिकाका स्थानीयवासी लोकेश गुरुङ ‘भोटे’ले बताउनु भएको छ ।
उनले भने, ‘चिसोको समयमा लेकाली भेगमा बस्दा भेडापाठालाई चरीचरनमा समस्या हुने गर्छ, गर्मी मौसममा बँेसीमा चरिचरनका लागि समस्या हुने गरेकाले बर्सेनि लेकमा र बेँसीमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।’
लेकाली भेगका मानिसहरू साथमा विद्यालयमा जाने उमेरका बालबालिकालाई पनि साथमा लिएर जाने गरेका छन् । आफूलाई खान–बस्नका लागि भेडापाठाको पिठ्यूँमा नुन, तेल, चामललगायत खाद्यान्न सामग्री लिएर जाने गरेको वीरबहादुर गुरुङले बताउनु भएको छ । बेँसीमा बस्दा भेडापाठाहरूलाई चरिचरन गर्नका लागि प्रतिभेडाको एक सयभन्दा बढी शुल्क तिर्नुपर्ने हुँदा गर्मी मौसममा लेकतिर र चिसो मौसममा बेँसीतिर जाने गरेको गुरुङले बताए ।
लेकाली भेगमा भने उनीहरू जडीबुटी ओसारपसार गर्ने गर्दछन् । गर्मीको मौसममा बाजुराबाट चीनको सिमाना र हुम्लाको हिल्सा तथा यारीमा पुग्ने गरेका गुरुङको भनाइ थियो ।
उनीहरूलाई चीन जान भने अनुमति छैन । भेडापाठासहित आठ घरपरिवार लेकाली भेगबाट बेँसीमा झरेको लोकेश गुरुङले बताए । भेडापाठा र घरपरिवारसँगै दुई महिनापछि मात्र लेकबाट बँेसीमा पुग्ने गरेको गुरुङको भनाइ छ । हिमाली निमावि कक्षा ७ मा पढ्दै गरेकी शान्ति गुरुङ पनि भेडापाठा लिएर बँेसी गएकी छन् । विद्यालयमा पढाइ सञ्चालन भए पनि चिसोबाट जोगिन बँेसी गएको उनको भनाइ थियो ।
उनी भन्छिन्, ‘समाजको संस्कारअनुसार चल्नुपर्ने भएकाले पढाइ छोडेर पनि लेक र बेँसी जानुपर्ने बाध्यता छ।’ यस्तै पाण्डुसैनका भीमबहादुर गुरुङको छोरा कमल गरुङ विद्यालयमा पढाइ छोडेर बेँसीमा भेडापाठासँग गएका छन् । बेँसी जान महिलाहरूले एकाबिहानै पिठ्यूँमा स–साना बच्चाहरू बोक्छन् भने ठूला र पुरुषले आफूलाई चाहिने सामग्री बोकेर लैजाने गरेका भीमबहादुर गुरुङले बताए । उक्त समुदायका मानिसले बालबालिकासहित भेडापाठा लेक र बेँसी गर्दै दिनचर्या बिताउनु परेको नेपाल भोटे जनजाति महासंघ बाजुराका अध्यक्ष गम्भीरसिंह गुरुङले बताउनु भयो ।
जनजातिको मुख्य पेशा नै भेडापालन रहेकाले कतिपयका बालबालिका शिक्षाबाट वञ्चित हुने गरेको अध्यक्ष गुरुङको दाबी रहेको छ । जिल्लाको हिमाली गाउँपालिका, बूढीनन्दा नगरपालिका र बडीमालिका नगरपालिकामा गरी पाँच सयभन्दा बढी परिवार बसोबास गर्दै आइरहेका छन् ।
पछिल्लो समयमा कतिपय जनजाति समुदायका मानिसहरूले भेडापालन व्यवसाय छोडेर मार्तडी र कोल्टी बजारमा व्यापार–व्यवसाय गर्दै आइरहेको जनजाति महासंघ बाजुराले जनाएको छ ।
भेडापालन व्यवसायबाट आम्दानी नहुने भएपछि पेशा नै परिवर्तन गर्नु परेको सदरमुकाम मार्तडीमा बस्दै आउनुभएका ओमकार बोगटी ‘भोटे’ले बताए ।