मिस वर्ल्डमा टप ५ को हकदार थिएँ : मिस नेपाल अनुष्का

  पुष ०८, २०७६

‘मिस वर्ल्ड’मा सहभागी भएर नेपाल फर्किएकी ‘मिस वर्ल्ड नेपाल’ अनुष्का श्रेष्ठले आफू टप ५ मा पर्न नसक्नुको प्रश्नको जवाफ आफूसँग पनि नभएको बताएकी छिन् ।

काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् ‘नेपालले यति धेरै मिहिनेत गर्दा पनि उत्कृष्ट १२ मै चित्त बुझाउनुपर्ने हो त भन्ने प्रश्न उब्जन सक्छ । यो प्रश्न मैले आफूलाई पनि सोधेकी छु ।’

अनुष्काले अगाडि भनिन् ‘मिस वर्ल्डमा हाम्रो प्रस्तुति हेर्दा हामी उत्कृष्ट ५ मा पर्न लायक थियौं । म जान्न चाहन्छु कि, केही न केही कारण त थियो होला । तर, त्यो कारण हामीले जान्न पाएको खण्डमा अरु बर्ष हामीलाई सजिलो हुने थियो । त्यो पारदर्शिता देखाइदिन म आयोजकसँग आग्रह गर्दछु ।’

उनले, ‘मिस वर्ल्ड’लाई आफूले महोत्सवको रुपमा देखेको बताइन् । भनिन् ‘हामी सबै एकजुट भएर अगाडि बढेको मैले पाएँ । नेपाल र नेपालीलाई सकारात्मक बनाएको देख्दा मिस वर्ल्डमा बर्षमा एक पटक होइन दुई पटक जान पाए हुन्थ्यो भन्ने लागेको छ ।’

उनले, फाइनलको दिन नआएसम्म आफूलाई हरेक दिन प्रतिस्पर्धा जस्तो नलागेको बताइन् । उनले, हरेक दिन नयाँ नयाँ देशका प्रतिस्पर्धीलाई आफूले चिन्ने मौका पाएको सुनाइन् ।  ‘मिस वर्ल्ड’मा अनुष्काले ‘मल्टिमिडिया र व्यूटी विथ अ पर्पस’ अवार्ड जितेकी थिइन् ।

अनुष्काले अगाडि भनिन् ‘विश्वका सबै देशका प्रतिस्पर्धी पुग्दा आफू कतै हराएको जस्तो पनि लाग्थ्यो । न म त्यहाँ सबैभन्दा सुन्दर थिएँ, न त म सबैभन्दा अग्ली थिएँ ।’

अनुष्काले ‘मल्टिमिडिया अवार्ड’ पाएपछि नेपालीले देखाएको मायालाई कसरी आफूले सम्हाल्न सक्छु भन्ने लागेर प्रस्तुति दिएको बताइन् । अनुष्काले आफूले हरेक प्रस्तुतिमा रोचकता अनुभव गरेको सुनाइन् । तनाव लिएर काम गर्दा अनुहारमा देखिने रहेछ भन्दै रमाएर काम गरेको उनले सुनाइन् ।

अनुष्काले विश्व सुन्दरी प्रतियोगीताको मञ्चमा आफूले सक्दो प्रभाव पार्नका लागि कोशिश गरेको बताइन् । गतबर्ष श्रृङ्खला खतिवडाले पाएको जस्तो चर्चा अनुष्काले पाउन सकिनन् । यसमा अनुष्का भन्छिन्–‘मलाई श्रृङ्खला दिदीले सक्दो सहयोग गर्नुभयो । मलाई कसको चर्चा बढी भयो भन्ने चासो खासै भएन ।’

तपाईको प्रतिक्रिया