नरिवलको रक्सी खाँदा आठको मृत्यु, सयौँ अस्पताल भर्ना

  पुष ०८, २०७६

मनिला, ७ पुस : नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

रक्सीकै कारण बिरामी भएका अरू सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

उनीहरूले सेवन गरेको रक्सीमा मेथनलभन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरूमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।

रक्सी सेवन गरेपछि उनीहरूले शुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।

रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएका उनले बताए । उनीहरू सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरूको भनाइ छ । क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।

बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् । पछाडि पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया