भ्रमण वर्षमा डोटीमा निरौली दरबार हेर्न नछुटाऔँ

  पुष ०८, २०७६

डोटी, ७ पुस : नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जिल्लामा पर्यटन व्यवसायी तथा होटेल व्यवसायी सक्रिय भएका हुन् । यहाँका निजी क्षेत्रले आआफ्नो क्षेत्रबाट प्रचारप्रसारका काम शुरु गर्न थालेका छन् । अहिले जिल्लामा रहेका होटेल व्यवसायीले आफ्नो होटेल तथा रेष्टुराँको सरसफाइदेखि नयाँ भौतिक संरचना निर्माण गर्न जुटेका छन् ।

त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको स्तरोन्नति गरिन थालिएको छ । सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रको काम तीव्र गतिमा जारी रहेको छ । भ्रमण वर्षमा आउने पर्यटक तथा पाहुनालाई गुणस्तरीय बास व्यवस्थापन गर्नका लागि होटेल तथा रेष्टुराँ व्यवसायी रातदिन खटेर लाग्न थालेको होटेल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उनले भने, ‘भ्रमण वर्ष मनाउन आउने पाहुनालाई सुविधा दिन हामी कुनै कसर बाँकी राख्ने छैनौँ, सुविधाका लागि सम्पूर्ण तयारी गर्दैछौँ ।त्यस्तै यहाँका पुराना कलासंस्कृतिको प्रदर्शनको पूर्वाअध्ययन तथा मठमन्दिरमा सरसफाइ कार्यक्रम पनि शुरु गरिन थालिएको छ ।

जिल्लामा पर्यटक आर्कषित गराउने स्थानमा खप्तड, शैलेश्वरी मन्दिर, डोटेली राजाको दरबार, निरौली दरबार, बडीकेदार मन्दिर रहेका छन् भने यहाँको कलासंस्कृतिमा हुड्के, छलिया, भुवाँ नाच, डेउडालगायतका रहेको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिए । उनले भने, ‘हामीसँग असङ्ख्य कलासंस्कृति छ, हामीले ती क्षेत्रको मात्रै प्रचारप्रसार गर्नसके पर्यटक जति नि भित्र्याउन सक्छौँ ।बडीकेदार र शैलेश्वरी मन्दिरको दर्शन तथा पूजा गरेमा चिताएको वर मिल्छ भन्ने मान्यताअनुसार दैनिक सयौँ भक्तजन आउने गरेकोसमेत पुजारी भट्ट बताउँछन् ।

त्यस्तै निरौलीमा रहेको सयौँ वर्ष पुरानो राजाको दरबार अवलोकन गर्न पनि पर्यटक आउने गरेका गरेका छन् । राजा निरैपाल मल्लको पालामा मासको गारोबाट उक्त दरबार निर्माण गरिएको स्थानीयवासी बताउँछन् ।

प्रदेश सरकारले भ्रमण वर्षका लागि लक्षित गरी कुनै कार्यक्रम यहाँ तय नगरे पनि निजी क्षेत्रका व्यापारी भने आफ्नै लगानीमा भ्रमण वर्ष सफल पार्न अग्रसर रहेको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, ‘सरकारले कार्यक्रम तय गरेन भनेर चुप लाग्नुभन्दा हामीले आफ्नो क्षेत्रबाट के गर्न सक्छौँ भनेर सबैले लाग्नुपर्ने अवस्था छ, हामी आफ्नै लगानीमा भ्रमण वर्ष सफल पारेरै छोड्छौँ ।

त्यस्तै होटेल व्यवसायी तथा उद्योग वाणिज्य सङ्घले जिल्लामा आउने पाहुनाको स्वागतका लागि विभिन्न क्षेत्र र ठाउँमा सूचना पाटी लगायतका सामग्री पनि राख्ने तयारी गरेको छ ।

त्यस्तै पर्यटन व्यवसायीले पनि सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको बारेमा निर्माण गरिएका प्रचार सामग्री प्रदर्शन गर्ने तथा प्रचारप्रसार गर्ने जिम्मेवारी पाएको छ । डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले भने, ‘हामी सबै व्यवसायी नेपाल भ्रमण वर्ष सफल बनाउन लागि परेका छौँ, प्रदेश सरकारले पनि सहयोग गर्नु जरुरी भएको छ ।

भ्रमण वर्ष सफल पार्न जिल्लामा रहेका नौ वटा स्थानीयतहले पनि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘भ्रमण वर्ष मनाउनेभन्दा पनि सुदूरपश्चिम के हो भन्ने हामीले चिनाउनु जरुरी छ, सुदूरपश्चिमको धर्म, कलासंस्कृति र पर्यटनको विषयमा हामी देश विदेशमा अवश्य चिनाउने छौँ ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले भ्रमण वर्ष सफल पार्न जिल्लामा कार्यरत सबै संघ संस्था, कार्यालय र स्थानीयतहसँग सल्लाह र सहकार्य गरिने बताए । उनले भने, ‘भ्रमण वर्ष सफल पार्न सबै तह, संघ संस्थालाई हामीले आग्रह गरेका छौँ, हामी राम्रो तथा सौहार्दापूर्ण तरिकामा सफल पार्ने छौँ ।भ्रमण वर्षमा आएका पर्यटकलाइ खुशी पार्न यहाँका पुराना कलासंस्कृति तथा झाँकीको प्रदर्शनी गरिने भएको छ । जसका लागि सबै स्थानीय तहमा कालासंस्कृति र झाँकी समूहसमेत गठन गरिन लागेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन ट्राफिक सचेतना र प्रचारात्मक कार्यक्रम शुरु गरेको छ । ट्राफिक प्रहरीद्वारा हाम्रो सडक राम्रो सडक, सुरक्षित यात्राको लागि ट्राफिक नियमको पालना गरौँभन्ने नारासहितका सूचना पाटी ठाउँ ठाउँमा राखिएका छन् ।

भ्रमण वर्षलाई सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग गरौँ भन्ने उद्देश्यले जिल्लामा विभिन्न कार्यक्रम गर्ने योजना बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले बताए । उनले भने, ‘भ्रमण वर्ष सफल पार्न हामीले जिल्लामा विभिन्न सडक तथा सुरक्षित यात्रासम्बन्धी कार्यक्रम शुरु गरेका छौँ, त्यसको सबैले पालना गर्नु जरुरी छ ।’ /f;;

तपाईको प्रतिक्रिया