पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

  पुष ०१, २०७६

इस्लामावाद

काठमाडौँ १ पुस : पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

उहाँलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिनु भएको थियो ।

पेशावरको उच्च अदालतका मुख्य न्यायाधिश वाकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायधिश नजार अक्बर र लाहोर उच्च अदालतका न्यायाधिश सहिद करिमको संयुक्त इजलासले मुशर्रफलाई मृत्यु दण्डको फैसला सुनाएको हो विषेश अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो । देशद्रोहको यो मुद्धा सन् २०१३ को डिसेम्बरदेखि अल्झिदै आएको थियो ।

तीनसदस्यीय इजलासले मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गरेको छ । मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिनु भएको थियो । गम्भीर देशद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले नोमेम्बर २८ मा मुशर्रफलाई आफ्नो बयान पेश गर्न डिसेम्बर ५ सम्मको अन्तिम सीमा समय तोकेको थियो ।

अदालतले उहाँको विरुद्धमा फैसला सुनाएपनि मुशर्रफ भने सन् २०१६ देखि स्वैच्छिक निर्वासनको क्रममा दुवईमा बस्दै आउनु भएको छ । उहाँले उपचारका लागि दुवई बस्नु परेको बताउँदै आउनु भएको छ । उपचारको क्रम जारी रहेकोले स्वदेश नफर्किने उहाँले बताउँदै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया