कारागारमा शौचालयदेखि सुत्ने ठाउँसम्मको अभाव

  मंसिर ३०, २०७६

स्याङ्जा ३० मंसिर : जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरूले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरूलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए । पचास जनाको क्षमता भएको जिल्ला कारागारमा हाल १५७ कैदीबन्दीलाई राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाइँले पानीको समस्याले सरसफाइमा समेत समस्या परेको बताए । चापागाइँले भने, ‘यहाँ यति धेरै जना कैदीबन्दी छौँ तर पर्याप्त शौचालय नहुँदा शौचालय जाँदा लाइन लागेर बस्नु पर्ने बाध्यता छ ।चापागाइँका अनुसार शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नु पर्ने हुन्छ । अर्का कैदीबन्दी दिनेश गुरुङले कारागारमा सुत्ने ठाउँको अभावले पालैपालो सुत्नु पर्ने अवस्था आएको बताए ।

कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकोले विभिन्न प्रकारका समस्या आउने गरेको र आफुले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताए । उनले कारागारमा पानी, शौचालयका साथै कैदीबन्दी बिरामी हुँदा सवारी साधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताए ।

कारागारमा रहेका कैदीबन्दीहरूले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिसहरू आउने गरे पनि आफुहरूको समस्याको समाधान नभएको गुनासो गरेका छन् । कारागारमा ५० जनाको क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ जना कैदीबन्दी रहेका छन् ।

तपाईको प्रतिक्रिया