एक किलो चाँदीसहित भारतीय युवक पक्राऊ

  मंसिर ३०, २०७६

जलेश्वर, ३० मंसिर : महोत्तरी जिल्लाको जलेश्वरमटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए ।

आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी न.पा.९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो । चाँदीसहित पक्राउ परेका युवक ठाकुरलाई आवश्यक कारबाहीका लागि गएराति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया