बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा

  मंसिर २२, २०७६

२२ मंसिर, काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो ।

खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् ।

नेपालका प्रशिक्षक बालगोपाल मर्हजनले अब भुटानलाई फेरि एक पटक हराएर स्वर्ण जित्ने विश्वास व्यक्त गरे । ‘हामी लिगमा अपराजित एक्लो टिम हौं । अब हामी फाइनलमा पनि भुटानलाई जित्दै स्वर्ण जित्न चाहन्छौं’ बंगलादेशलाई हराएपछि महर्जनले भने ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । माल्दिभ्सलाई २-१ ले हराएको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ ।

तपाईको प्रतिक्रिया