लागत अनुसारको मूल्य नपाएको भन्दै किसानद्धारा आन्दोलन (फोटोसहित)

  माघ २०, २०७९

काठमाडौँ, माघ २० : भारतीय तरकारीको आयतले गर्दा स्वदेशी तरकारीले उचित बजार र मूल्य नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर आन्दोलन गरेका छन् ।

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर विरोध गरेका हुन् ।

‘यहाँ पालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’

उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न थोरै पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिंदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।

लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे। किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया