जनताका काम द्रुतगतिमा गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री मोदी

  माघ १५, २०७९

विराटनगर, माघ १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय प्रमुखहरूलाई आज उहाँले निर्देशन दिँदै सुशासन कायम गर्न भ्रष्टाचारमुक्त बनाउने धारणा राख्नुभयो । उहाँले भ्रष्टाचारमा शून्यसहनशीलता अपनाउने भन्दै कर्मचारीहरूले बिचौलियाको माध्यमबाट काम गरिरहेको गुनासो सुनिए पनि मेरो अवधिमा त्यस्तो सुन्न नपरोस् भन्नुभयो । मन्त्री मोदीले निर्देशन दिँदै जनताका आशाका केन्द्र रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सुगममा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गममा काम गर्ने कर्मचारीलाई सुगममा पठाउने भन्दै बरण्डामा बस्ने र घाम तापेर बस्ने कर्मचारीहरूलाई काममा लगाइने धारणा राख्नुभयो । मन्त्री मोदीले कार्यालयको निर्धारित समयमै कर्मचारीहरू हाजिर भई काम गर्नुपर्ने निर्देशनसँगै कार्यालयको शौचालय र सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्नुभयो ।

उहाँले कर्मचारीहरूलाई भ्रष्टाचारमुक्त हुन र सुशासन कायम राख्न निर्देशन दिँदै कसैको प्रभावमा नपरी सरकारप्रति उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो । मन्त्री मोदीले स्थानीय तहका कर्मचारीको विषयमा व्यापक गुनासो आइरहेको यस सन्दर्भमा अनुसन्धान एवं अध्ययन भइरहेको भन्दै सङ्घीय निजामती ऐन ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको जानकारी दिनुभयो । उहाँले सङ्घीय निजामती ऐनका सन्दर्भमा पूर्वप्रधानमन्त्रीसँग पनि छलफल भइरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्ला वस्तुस्थितिका बारेमा जानकारी दिँदै जनतालाई सहज ढङ्गले सेवा प्रवाह हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रजिअ भट्टराईले राष्ट्रसेवक कर्मचारीहरू कानूनको परिधिभित्र रहेर काम गर्नुपर्ने भन्दै जनतालाई अनुभूति दिलाउने किसिमको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया