पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो

  मंसिर २१, २०७९

सिमकोट, मङ्सिर २१ : हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले पाँचवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।

गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष राजन रावतले आगामी दिनमा खार्पुनाथका बालबालिकाले खोप लगाउनबाट वञ्चित भएको सञ्चारकर्मीले समाचार लेख्नु नपरोस् भन्ने आग्रह गर्नुभयो । सो गाउँपालिकाले २३ महिनाभन्दा मुनिका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरेको छ ।

तपाईको प्रतिक्रिया