पत्रकार राईलाई रिहाइ गर : पत्रकार महासङ्घ उदयपुर

  मंसिर १८, २०७९

उदयपुर, मङ्सिर १८ : उदयपुरका पत्रकार तथा रेडियो नेपालका समाचारदाता गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ । प्रहरीले साइबर अपराधको कारण देखाउँदै पक्राउ गरेर हिरासतमा राखेको विरोधमा आज पत्रकार महासङ्घ उदयपुरको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

आज नेपाल सरकार गृह मन्त्रालयसहित सम्बन्धित निकायलाई बोधार्थ बनाएर जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापनपत्र बुझाइएको कुरा नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो ।

प्रदेश नम्बर १ पत्रकार महासङ्घसहित प्रदेश नं १ भित्रको १४ जिल्लाको पत्रकार महासङ्घले नै आज पत्रकार गजेन्द्र राईलाई गैरकानूनी रूपमा पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरी आआफ्ना जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउान प्रदेश नं १ का जिल्लाका पत्रकार महासङ्घले स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा पत्रकारको सामान्य विषयको मुद्दा प्रेस काउन्सिलमार्फत हेरिनुपर्ने माग गरिएको छ । अध्यक्ष खड्काले भन्नुभयो, “पत्रकार राईको मुद्दा प्रहरीले हेर्ने हैन प्रेस काउन्सिल नेपालमार्फत अगाडि बढ्नुपर्छ ।”

तपाईको प्रतिक्रिया