युक्रेनी भूभाग रुसमा गाभिएको घोषणा गर्दै पुटिन, बाइडनले दिए चेतावनी

  असोज १४, २०७९

काठमाडौं, असोज १४ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार युक्रेनका थप चारवटा क्षेत्रलाई आफ्नो देशमा गाभ्ने उद्देश्यले एउटा हस्ताक्षर समारोह आयोजना गर्ने भएका छन् । रुसी नियन्त्रणमा रहेका ती क्षेत्रमा भएको भनिएको जनमतसङ्ग्रहपछि पुटिनले उक्त विलयसम्बन्धी समारोहको गर्न लागेका हुन् ।

रुसले जनमतसङ्ग्रह भनेको उक्त मतदानलाई युक्रेन र पश्चिमा राष्ट्रहरूले “छद्म” भनी निन्दा गरिरहेका छन् । रुसी कब्जामा रहेका ती क्षेत्रमा रुस-समर्थित अधिकारीहरूले यसअघि पाँच दिन भएको मतदातपछि “लगभग पूर्ण जनसमर्थन रुसमा गाभिने पक्षमा गएको” दाबी गरेका थिए ।

स्वघोषित तर अन्तर्राष्ट्रिय मान्यता नपाएका युक्रेनबाट टुक्रिएका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा मतदान भएको थियो । जापोरीजा र खेअर्सनको दक्षिणी क्षेत्रका रुसी कब्जामा रहेका भागहरूमा पनि मतदान गराइएको थियो ।

घोषणाको तयारी
रुसी राष्ट्रपतिले शुक्रवार क्रेम्लिनमा मुख्य मन्तव्य दिनेछन्। मस्कोको रेड स्क्वेअरमा पहिले नै एउटा मञ्च तयार पारिएको छ । ती चारवटा क्षेत्रलाई रुसी भूभागको रूपमा घोषणा गर्ने बिलबोर्डहरू तयार छन् र साँझमा साङ्गीतिक कार्यक्रम पनि हुनेछ ।

यो तयारीले सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो देशमा गाभेको घटनाको झल्को दिएको छ । त्यस बेला पनि एउटा अन्तर्राष्ट्रिय मान्यता नपाएको जनमतसङ्ग्रहपछि ती क्षेत्रलाई रुसमा गाभिएको घोषणा गरिएको थियो ।

त्यस बेला राष्ट्रपतिले हस्ताक्षर गरेपछि संसद्‌मा राष्ट्रपतिले लडाइँमा विजयी भएको मन्तव्य दिएका थिए र ती क्षेत्र आफ्नो देशका अङ्ग भएको घोषणा गरिएको थियो । उक्त विलयलाई अधिकांश अन्तर्राष्ट्रिय समुदायको हालसम्म मान्यता दिएको छैन ।

युक्रेन के भन्छ?
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “छद्म जनमतसङ्ग्रह”को कुनै अर्थ नभएको र त्यसले वास्तविकतालाई परिवर्तन नगरेको बताए । उनले भने, “युक्रेनले आफ्नो क्षेत्रीय अखण्डतालाई पुनर्स्थापित गर्नेछ र रुसले त्यो परिणाम (जनमतसङ्ग्रह) लाई मान्यता दिँदा हाम्रो प्रतिक्रिया धेरै कठोर हुनेछ ।”

रुसले भन्ने गरेको मतदान प्रक्रियाको कुनै स्वतन्त्र अनुगमन भएन र निर्वाचन अधिकारीहरू सशस्त्र सैनिकले घेरिएर घरघरमा गएको तस्बिरहरूमा देखिएको थियो ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीवार भनेका थिए, “भोलि दिउँसो ३ बजे ग्रान्ड क्रेम्लिन प्यालेसको सेन्ट जोर्ज हलमा नयाँ क्षेत्रलाई रुसमा समावेश गर्ने सम्बन्धमा हस्ताक्षर समारोह आयोजना गरिनेछ।” कार्यक्रममा पूर्वी क्षेत्रका दुईजना रुस-समर्थित पृथक्तावादी नेता र दक्षिणबाट रुसले नियुक्त गरेका दुई अधिकारीसँग छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर हुनेछ ।

क्राइमियाका बेलामा जस्तै रुसी संसद्का दुवै सदनले अर्को साता औपचारिक रूपमा विलयसम्बन्धी सन्धिलाई अनुमोदन गर्नेछन् । पुटिनले आफ्नो ७० औँ जन्मदिनको तीन दिनअघि अक्टोबर ४ मा संसद्को माथिल्लो सदनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी चेतावनी
अमेरिकाले ‘छद्म जनमतसङ्ग्रह’का कारण रुसमाथि थप प्रतिबन्ध लगाउने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनी भूभागमा गरेको उसको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पारेका छन् ।

मस्कोले आफूले कब्जा गरेका चारवटा क्षेत्रलाई विलय गर्ने घोषणा गर्ने तयारी गरिरहेका बेला उनको यस्तो भनाइ आएको हो । बाइडनले रुसले साम्राज्यवादी महत्वाकाङ्क्षा लिएको आरोप लगाए र उसले रुसी नियन्त्रणमा रहेका युक्रेनी भूभागमा गरेको जनमतसङ्ग्रहलाई पूर्णत: “छद्म कार्य” भएको बताए।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले पनि रुसलाई आफ्नो विलय योजनाबाट पछि हट्न आग्रह गरेका थिए । उनले त्यस्तो विलयले सङ्कट थप बढाउने र आधुनिक युगमा त्यस्तो कार्यका लागि कुनै स्थान नभएको भनेका थिए ।

ईयूका सदस्यराष्ट्रहरूले मतदान गराउन संलग्न जोसुकैमाथि प्रतिबन्धसहित आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेको बताएका छन् । जर्मनीकी विदेशमन्त्रीले बिहीवार रुसी कब्जामा रहेको युक्रेनी भागमा रहेका मानिसहरूलाई उनीहरूको घर र कार्यस्थलबाट धम्की दिएर र कहिलेकाहीँ गोली प्रहार गरेर जबरजस्ती मत हाल्न लगिएको बताएकी थिइन् । उनले त्यसैले उक्त जनमतसङ्ग्रह स्वतन्त्र र निष्पक्ष नभएको दाबी गरिन् ।

सुरक्षाकर्मीको घेरामा मतदान
गत शुक्रवार युक्रेनको कुल भूभागमध्ये करिब १५ प्रतिशतमा केही दिनको सूचनामा उक्त मतदान प्रक्रिया सुरु गरिएको थियो । रुसी सरकारी सञ्चारमाध्यमहरूले सशस्त्र सुरक्षाकर्मीलाई सुरक्षाका लागि परिचालन गरिएको दाबी गरे ।

तर ती सुरक्षाकर्मीलाई स्थानीयवासीमा डर पैदा गर्न प्रयोग गरिएको स्पष्ट थियो । रुसले आफूले गाभ्ने निर्णय गरेको चारवटा क्षेत्रमध्ये कुनै पनि क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गर्दैन ।

लुहान्स्कको अधिकांश भाग रुसी कब्जामा रहे पनि मस्कोले डोनेट्स्कको ६० प्रतिशत हिस्सा मात्र नियन्त्रण गर्छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट युक्रेनमा आक्रमण सुरु गरेको सात महिनापछि पनि चारवटै क्षेत्रको अग्रमोर्चामा युद्ध जारी छ ।

दक्षिणी क्षेत्रको राजधानी जापोरीजा युक्रेन सरकारको नियन्त्रणमा छ र खेअर्सनमा युक्रेनी प्रत्याक्रमण चलिरहेको छ । यद्यपि रुसीले ती क्षेत्रमा नियुक्त गरेका अधिकारीहरूले महिनौँदेखि विलय आह्वान गर्दै आएका छन् । सेप्टेम्बर महिनामा युक्रेनी सैन्य सफलताको शृङ्खलाले क्रेम्लिनले तत्कालै यस्तो कदम चालेको जस्तो देखिन्छ ।

युक्रेनी प्रत्याक्रमण
युक्रेनी सेनाले उत्तरपूर्वको ठूलो भूभाग पुन: कब्जा गरेको छ । युक्रेनले बिहीवार उसको सेनाले डोनेट्स्कको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर लिमानमा रुसी सेनालाई घेरेको बताएको थियो ।

गत साता पुटिनले आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए । उक्त घोषणालाई लिएर रुसभित्रै विरोध प्रदर्शन हुनुका साथै कैयौँ युवाहरूले देश छाडेका खबर आएका छन् ।

कैयौँ प्रदर्शनकरीहरूलाई पक्राउ गरिएको छ भने क्रेम्लिनले उक्त घोषणामा केही कमजोरी रहेको स्वीकार गरेको छ । पुटिनले रुसी भूमिको रक्षा गर्न परमाणुअस्त्र सहित सबै माध्यमहरू प्रयोग गर्ने धम्की पनि दिएका बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया