प्रधानमन्त्री कप क्रिकेट : उद्घाटन खेलमा आर्मी र कर्णाली भिड्ने

  पुष २५, २०७८

काठमाडौँ, पुस २५ : प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोमबारनै अर्को खेलमा एपिएफ क्लब र प्रदेश २ भिड्दैछन् ।

माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता आर्मी, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् ।

समूह ‘बी’ बाट एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । कीर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

क्यानले आसन्न आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेललाई दृष्टिगत गरेर प्रधानमन्त्री कप टी–२० ढाँचामा सञ्चालन गर्न लागेको हो । यसअघि यस प्रतियोगिता एकदिवसीय ढाँचामा सञ्चालन गरिँदै आएको थियो ।

तपाईको प्रतिक्रिया