पाँचौं पटक म्याद थपिए पनि पुल निर्माण सम्पन्न भएन

  पुष १७, २०७८

तनहुँ, पुस १७ : तनहुँको दुई स्थानीय तह जोड्ने एक मोटर गुड्ने पुल निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि पुरा हुन सकेको छैन । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्नलाई सेती नदीमा निर्माण थालिएको पुल पाँच पटक म्याद थप गर्दा पनि पुरा नभएको हो ।

पुल निर्माण शुरु हुँदा खुसी भएका स्थानीय वासिन्दा पुल अलपत्र हुँदा निराश भएका छन् । सङ्घीय सरकारको लगानीमा निर्माण थालिएको पुलको तेस्रो पटक थपिएको म्याद सकिएपछि फेरि म्याद थप गरिएको छ तर पुल निर्माण भने अधुरै छ । वि.सं. २०७२ साल असार ३० गते २९ असार २०७५ सम्म निर्माण सक्ने शर्तमा एडभेन्चर कन्ट्रक्सन प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । निर्धारित समयमा काम नसकिएपछि १५ चैत २०७ सम्मको म्याद थपियो । दोस्रो पटक थपिएको म्यादमा काम आधा पनि भएन । फागुन २०७७, १४ गतेसम्म फेरि तेस्रो म्याद थप भयो ।

यो अवधिमा पनि पुलको प्रगति निराशाजनक नै रहेको पाइएको छ । वि.सं. २०७८ सालको भदौ ९ गते सम्मलाई सम्मलाई चौथो पटक थपिएको म्याद सकिएको भए पनि काम भने अधुरै रहेको छ । पुल निर्माणस्थलमा तीन वटा पिल्लर मात्रै ठडिएको छ । नदी किनारमा दुई र नदीको बिचमा एउटा पिल्लर ठडिएको छ । नदीको बीच अझै अर्को पिल्लर बनाउन बाँकी छ । गएको हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको थियो । नदीको बहाव बढेपछि काम रोकियो । आगामी चैत मसान्तसम्म पाँचौ पटक म्याद थप गरिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

कोरोनाले प्रभावित निर्माणाधिन आयोजनालाई छ महिना म्याद थप्ने सरकारको निर्णय अनुसार चैत्र सम्मको लागि म्याद थप सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इञ्जिनियर लक्ष्मी केसीले जानकारी दिनुभयो । ‘‘चैत्र सम्ममा काम पुरा गर्ने गरी ताकेका गरिरहेकाले रोकिएको कार्य हाल भईरहेको छ ’’ केसीले भन्नुभयो । समयमै पुल निर्माण नहुँदा सेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् । पुल नहुँदा वर्षायामको बेला यातायात सेवा प्रभावित हुने गरेको भिमाद नगरपालिकाको भागरका प्रेमबहादुर थापाले बताउनुभयो । पुल अलपत्र हुँदा दुई पांग्रे सवारी झोलुङ्गे पुलबाट जोखिम मोलेर तार्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

अधुरो पुल हेर्दै झोलुङ्गे पुलबाट बाईक स्कुटर तार्नुपर्छ’, थापाले भन्नुभयो सवारी चलाउने र पुल तर्ने पैदलयात्रीलाई जोखिम छ । काम समयमै पुरा गर्न पटक–पटक झक्झकाए पनि सुनवाई नभएको भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ बताउनुहुन्छ । पुल निर्माणको ढिलाईले यहाँका बस्तीलाई विकासले पछाडि परेको छ, हिउँदमा जेनतन घुमाउरै बाटो प्रयोग गरे पनि बर्खाको बेला आवतजावतमा समस्या परेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पुल निर्माणमा ढिलाई हुनुमा निर्माण कम्पनीसँगै सडक विभाग अन्तर्गतको पुल महाशाखाको पनि दोष देखिएको छ । भौगोलिक अवस्थाको विश्लेषण नगरिकन महाशाखाले सुरुमा ओपन फाउण्डेशनमा पुलको डिजाईन ग¥यो । पुलको दुईवटा पिल्लरको काम सकेर नदीको बीच भागमा पिल्लर राख्ने क्रममा । डिजाइन परिर्वतनमा पुल महाशाखाले ढिलाई गरेको थियो । झण्डै डेढ बर्ष पुलको डिजाईन परिवर्तनमा काम रोकिएको सडक डिभिजन दमौली नै स्विकार्छ । अहिले डिजाईन परिर्वतन गरेर पुल पायल फाउण्डेशनमा बन्दैछ ।

तर, काम भने कछुवाको गतिमा । आठ करोड ८० लाख ५० हजार ८८३ रुपियाँमा भ्याटबाहेक पुल निर्माणको ठेक्का सम्झौता भएको हो । पाँच करोड ४२ लाख चार हजार ६ सय ८६ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ । यो बर्षको बजेटमा सङ्घीय सरकारले पुल निर्माणका लालि एक करोड रुपियाँ बजेट विनियोजन गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया