पीएम कप क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा

  पुष ०४, २०७८

धनगढी, पुस ४ : लुम्बिनी प्रदेश र प्रदेश १ धनगढीमा जारी प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ‘ए’ तर्फ आफ्नो दुबै खेलमा जित निकाल्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । प्रदेश १ ले वागमती प्रदेशलाई ५५ रनले हरायो ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले हुस्सु र सितलहरका कारण ६ ओभरमा खेलाईएको खेलमा १७ रन बनायो । कर्णालीले निर्धारित ६ ओभरमा तीन विकेट क्षतिमा १७ रन बनाएको थियो । कर्णालीका लागि कप्तान आयुशा टण्डनले सात रन र दिक्षा पुरीले अविजित सात रन बनाउनुभयो । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले दुई र नेरी थापाले एक विकेट लिनुभयो ।

कर्णाली प्रदेशले दिएको १८ रनको विजयी लक्ष्य लुम्बिनीले ३.१ ओभरमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो । लुम्बिनीलाई सानदार जित दिलाउन लक्ष्मी चौधरीले १२ रन बनाउनुभयो । नेरी थापाले पाँच रन जोड्नुभयो । दुई विकेट लिन सफल लुम्बिनीकी सुस्मिता भुषाल ‘प्लेयर अफ दी म्याच’ हुनुभयो ।

यसैगरी अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदश १ ले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक १४ रन बनायो । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेल्नुभयो । ६२ बलको सामना गर्दा उहाँले ५१ रन बनाउनुभयो । स्मृति कटुवालले २० र सवनभ राईले १५ रन जोड्नुभयो । बागमतीका अस्मिना कर्माचार्य र खुशी डंगोलले दसमान दुई दुई विकेट लिनुभयो ।

एक सय १५ रनको विजय लक्ष्य पछ्याएको वागमती प्रदेश २० ओभरमा आठ विकेटको क्षतिमा ५९ रनमा समेटिएको थियो । वागमतीका लागि सुमन खतिवडाले २१ रन बनाउनुभयो ।
कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनु वाहेक अन्य खेलाडीहरुले दोहोरो अंकको रन बनाउन सक्नुभएन ।

बलिङमा कप्तान रुविना क्षेत्री, ज्योती डनुवार र अलिशा खाडियाले एक एक विकेट लिइनुभर्यो । प्रदेश १ की अप्सरी वेगम ‘प्लेयर अफ दी म्याच’ हुनुभयो । हारसँगै वागमती र कर्णाली प्रदश प्रतियोगिताबाट बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया