वरिपरि हिउँले घेरिएको मुस्ताङको सुन्दर ढुम्बा ताल

  पुष ०४, २०७८

मुस्ताङ, पुस ४ : वरिपरि रहेका निलगिरि हिमाल, धौलागिरि, मानापाथीलगायतका हिमशृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट छोटो समयमा यहाँ पुग्न सकिन्छ । तालसम्म पुग्न सडक निर्माण गरिएको छ ।

ढुम्बा तालमा पुग्ने पर्यटकले विहानीपख नीलगिरि हिमालको छायाँ देख्न सक्छन् । तालको पश्चिमतिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । तालबाट देखिने जोमसोम बजारको सुन्दरता । पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेपछि ताल पर्यटनको केन्द्र बन्न थालेको हो । पर्यटक आउन थालेपछि ताल वरपर भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर एकआपसमा माया साटासाट गर्ने गर्दछन् । यातायात सञ्जालसँग मुस्ताङ जोडिएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । उपल्लो मुस्ताङ, कोरला र मुक्तीनाथ पुग्ने अधिकांश पर्यटक ढुम्बा ताल पुग्ने स्थानीय सुशील थकालीले बताउनुभयो । समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ६० मिटर र चौडाइ एकसय ३० मिटर छ । तालको गहिराइ १० मिटर छ ।

तपाईको प्रतिक्रिया