चियाको हरियो पत्ती समर्थन मूल्य तोक्न आग्रह

  पुष ०३, २०७८

इलाम, पुस ३ : उत्पादन लागतभन्दा बिक्री मूल्य कम हुने भएपछि इलामका चिया किसानले हरियो पत्ती चियाको समर्थन मूल्य तोक्न आग्रह गरेका छन् । रासायनिक मल र विषादी प्रयोग बढ्दै गएकाले अर्गानिक चियाको भविष्य अन्योल हुँदै गएको भन्दै किसानले अर्गानिक र गुणस्तरीय चियाको समर्थन मूल्य सरकारले तोक्नुपर्ने बताएका हुन् ।

चियाका ठूला व्यवसायीले किसानको चियामा ‘सिन्डिकेट’ गर्ने गरेको भन्दै गुणस्तरीय र अन्य कमसल किसिमको चियाको एउटै मूल्य दिने गरेकाले आफूहरूले लागत मूल्य नै नपाएको किसानको गुनासो छ । सूर्योदय नगरपालिकाको सुन्दर पानी चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक देवीकुमारी राईले यो सहकारीमा आबद्ध ११६ किसानले उत्पादन लागतभन्दा कम मूल्यमा चिया बिक्री गरिरहेको बताउनुभयो ।

“हाम्रो सहकारीले गोर्खा टी स्टेटलाई हरियो पत्ती दिने गरेको छ । गोर्खाले अर्गानिक हरियो चियाको मूल्य वर्षभरि नै प्रतिकिलो ९१ रुपियाँ ५० पैसा दिने गरेको छ तर एक किलो हरियो पत्ती उत्पादन गर्न किसानको १५० देखि दुई सय रुपियाँ खर्च हुने गरेको छ,” राईले भन्नुभयो । सरकारले मूल्य नतोक्दा पूर्ण अर्गानिक चिया उत्पादन गर्ने किसानले घाटामा चियाको हरियो पत्ती बेच्नुपरेको राईले बताउनुभयो ।

सन्दकपुर गाउँपालिकाका चिया किसान विनोद खतिवडाले पनि आफूले अर्गानिक चिया उत्पादन गरे पनि अर्गानिक खेती नगर्ने किसानले पाउने मूल्यमै हरियो पत्ती बिक्री गर्नुपरेको गुनासो गर्नुभयो । “आफ्नो बगान अर्गानिक छ, छिमेकीको बगानमा रासायनिक मल विषादी प्रयोग हुन्छ । त्यसको असरले अर्गानिक उत्पादन पनि अरूसरह बेच्नु बाध्यता छ,” खतिवडाले भन्नुभयो । सरकारले अर्गानिक चिया उत्पादनलाई संरक्षण र प्रोत्साहन नगर्ने हो भने नेपाली चिया विदेशमा बिक्री हुनै नसक्ने उहाँले दाबी गर्नुभयो ।

तीन वर्षअघि आफ्नो नगर क्षेत्रभित्र लागू हुनेगरी चियाको समर्थन मूल्य तोकेको सूर्योदय नगरपालिकालाई समर्थन मूल्य लागू गराउन निकै धौधौ परेको छ । गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ कार्यान्वयन गर्न त्यो समयमा उद्योेगी, किसान, नगरपालिका सबै सहमत भएर कार्यान्वयनमा आएको थियो । कार्यविधिमा ४० प्रतिशत मुना हुनुपर्ने र त्यसको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ तोकिएको छ ।

उद्योगीले गएको सिजनमा पत्तीको गुणस्तर हेर्ने बहानामा चियाको मुना हेरेर एउटै मूल्य निर्धारण गरेपछि गुणस्तरीय पत्ती उत्पादन गर्ने किसानलाई बढी मार परेको सूर्योदय–१२ का किसान पारस राईले बताउनुभयो । २०–३० किलो उत्पादन गर्दा र एक हजार किलो उत्पादन गर्दा हरियो पत्तीको गुणस्तर समान हुँदैन तर मूल्य भने एउटै हुने गरेको छ । राम्रो पत्ती र नराम्रो पत्तीको मूल्य एउटै दिएपछि गुणस्तरीय हरियो पत्ती उत्पादन गर्ने किसान मारमा पर्ने गरेको किसान राईको भनाइ छ ।

समर्थन मूल्य लागू गराउन अनेक प्रयास गरिरहेका सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले सरकारले धान, उखुको जस्तै चियाको मूल्य तोक्नुपर्ने बताउनुभयो । “अर्थतन्त्रको महŒवपूर्ण हिस्सा बनेको नेपाली चियामा व्यवसायीको सिन्डिकेट छ । त्यसलाई तोड्न सङ्घीय सरकार नै अग्रसर बन्नुपर्नै अवस्था छ । समर्थन मूल्यअनुसार व्यवसायीले चिया खरिद गर्दैन भने किसानको चिया सरकारले खरिद गर्ने सम्मको नीति बनाउनुपर्छ,” राईले भन्नुभयो ।

चियाको क्षेत्रमा क्रियाशील नेपाल चिया तथा कफी विकास बोर्डले चियाको समर्थन मूल्य तोक्न लगाउने धेरै प्रयास गरिरहेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो । “हामीले उत्पादन लागत मूल्य पनि निकालेका छौँ । चियाको मूल्य तोक्न बोर्ड सक्षम छ

तपाईको प्रतिक्रिया