सुनसरीमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै

  पुष ०३, २०७८

इनरुवा, पुस ३ : सुनसरीको सदरमुकाम इनरुवा र आसपास क्षेत्रका स्थानीय किसानले तोरी खेती गर्नेक्रम बढेको छ । बजार आएको विभिन्न ब्राण्डका खानेतेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्यमा असर गर्न थालेपछि किसानहरु तोरी खेतीमा आकर्षित भएको बताएका छन् ।

सुनसरीमा बर्सेनी तोरी खेती बढ्दोक्रममा रहेको कृषि प्राविधिकहरुले जनाएका छन् । कृषिका लागि उर्वर मानिने सुनसरीमा सिँचाइको पहुँच, भुमिगत सिंचाई र खानेतेलमा अत्याधिक मिसावट तथा मानव स्वास्थ्यमा खाने तेलको असर गर्ने चिकित्सकको भनाई पछि यहाँका कृषक तोरी खेतीमा जुर्मुराएको हरिनगर गाउँपालिका कृषि शाखाका प्राविधिक भुवनेश्वर यादवले बताउनुभयो ।

जिल्लामा खेतीयोग्य जमिनको ८४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । सुनसरीमा तेलहन बालीको रुपमा सूर्यमुखी, सर्सो र तोरी लगाउँदै आएकोमा यसपाली तोरी खेती बढी गरिएको उहाँको भनाई छ । कृषि ज्ञान केन्द्रका योगेन्द्र यादवकाअनुसार यसपाली बाढीले धानमा क्षती पुगेको र छोटो समयमा हुने भएकाले तोरी खेती बढी लगाइएको छ । कती क्षेत्रफलमा लगाइएको भन्ने तथ्याङ्क एकीन नभएको बताउँदै यादवले अन्य वर्षको तुलनामा भने बढी लगाइएको किसानहरुले बताएको जानकारी दिनुभयो ।

इनरुवा ९ बबियाका किसान जसलाल यादवकाअनुसार खेतमा तोरी लगाउँदा उत्पादन लागत कम लाग्ने प्रतिकट्ठा ५० केजीसम्म उत्पादन हुने भएकाले फाईदा बढी हुने उहाँको भनाई छ । आफूलाई स्वास्थ्य खानेतेल पनि हुने भएकाले गहुँ र मकैं छाडेर तोरी लगाएइको यादवले बताउनुभयो । उत्पादनमा खासै मिहिनेत पनि पर्दैन उहाँले भन्नुभयो, ‘आम्दानी राम्रो छ, खानलाई पनि राम्रो र स्वास्थ्यकर हुने भएर तोरी खेती बढेको छ ।’

तोरी खेतीका लागि उर्वर माटो चाहिने र इनरुवा नगरपालिकासहित विभिन्न पालिकामा सोही अनुसारको माटो पनि भएकाले तोरी लगाउने किसानहरु बढेको यादवको भनाई छ । सुनसरीको बराहक्षेत्र नगरपालिकादेखि सीमामा देवानगञ्जसम्म खेतीका लागि उर्वर माटो भएकाले तीन बालीसम्म लगाउन सकिने उत्पादकत्व क्षमता भएकोले तोरी पनि राम्रो फलेको अर्का किसान मुसहरु साहले बताउनुभयो । साहकाअनुसार तोरी उत्पादनका लागि वर्षमा तीन बाली दिन सक्ने खेत हुनुपर्छ, त्यसमा धान भित्र्याएपछि असोज, कात्तिकमा तोरी लगाएर पुसमा भित्र्याउन सकिन्छ, त्यसपछि पनि केहीले प्याज, मकै र धानजस्ता बाली लगाउने गर्छन् ।

यसरी बढीमा दुई महिनामा तोरी उत्पादन हुने र मल पनि त्यती खासै हाल्न नपर्ने, एक पटक सिंचाई गरेपछि पुग्ने भएकाले तोरी खेतीमा आकर्षण बढेको अर्का किसान दसरथ साहले बताउनुभयो । तेलका लागि प्रयोग हुने यहाँ उत्पादित तोरीका लागि अन्य ठाउँमा बजार खोज्न नपर्ने भएकाले पनि तोरी प्रायः किसानले दुई कट्ठादेखि तीन विघासम्ममा लगाएको साहले बताउनुभयो । यस जिल्लाको बराहक्षेत्र, इनरुवा, रामधुनी, देवानगञ्ज र गढी क्षेत्रमा तोरी बढी उत्पादन हुने र सो क्षेत्रमा तोरी खपत हुने अर्का कृषि प्रविधिक सुनिलकुमार साहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया