पर्यटकको पर्खाइमा पदमार्गका होमस्टे सञ्चालक

  कार्तिक १८, २०७८

दमौली, कात्तिक १८ : तनहुँको शुक्लागण्डकी नगरपालिका हुँदै स्याङ्जा जोडिने मिलेनियम ट्रे्क (सहस्राब्दी मार्ग) विगत दुई वर्षदेखि सुनसान छ । गण्डकी प्रदेशको राजधानी पोखरा नजिक रहेका उक्त पदमार्ग कोरोना भाइरस जोखिमका कारण दुई वर्षदेखि सुनसान रहेको हो ।

कोरोना भाइरस जोखिम न्यूनीकरण हुँदै जनजीवन सामान्य बनेपनि यो पदमार्गमा भने पर्यटकको चहलपहल बढ्न सकेको छैन । हिमाल हेर्दै पहाडी भूगोलमा पदयात्रा गर्न सकिने यहाँ पर्यटक आउन सकेका छैनन् । पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा दुई जिल्लालाई जोडेको ७२ किलोमिटर दूरी रहेको पदमार्गका होमस्टे सञ्चालक पर्यटकको बाटो कुरिरहेका छन् । यस पदमार्ग अन्तर्गत १७ गाउँमा होमस्टे सञ्चालन गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएकाले अब यहाँ पर्यटक आउने आशा गरिएको शुक्लागण्डकी नगरपालिका–१२ घरेडी सामुदायिक होमस्टेकी अध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो ।

“पहिला–पहिला पदयात्रामा पर्यटक आइरहन्थे, दुई वर्षदेखि पर्यटक आउन सकेनन्,” उहाँले भन्नुभयो, “अब त कोरोना पनि विस्तारै कम हुँदै गयो, पर्यटक आउनेमा आशावादी छाँै ।” आर्थिकस्तर उकास्ने उद्देश्यसहित सञ्चालन गरिएको होमस्टेमा पर्यटक नआउदा आम्दानीको स्रोत पनि बन्द भएको उहाँको गुनासो छ । कोरोना भाइरस जोखिम न्यून हुँदै गएपछि पदमार्गले पर्यटक पर्खिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । “पछिल्लो समय अन्य पर्यटकीय गन्तव्यमा चहलपहल बढेपनि यहाँ भने पर्यटकको आगमन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “पदमार्गमा पर्यटक भित्र््याउन प्रचारप्रसारको तयारीमा छांै ।”

गुरुङका अनुसार पदयात्रीविहीन पदमार्ग केही ठाउँमा भत्किएको छ । अधिकांश जङ्गल क्षेत्रमा पर्ने पदमार्ग घाँसपातको झाडीले ढाकिएको छ । व्यवस्थापन समितिले दशाँैवर्ष पुरानो पदमार्गको नक्शालाई पुसभित्र सक्नेगरी अद्यावधिकको काम थालेको छ । उक्त पदमार्ग सन् २००० देखि सञ्चालनमा आएको हो । छ रात सात दिनको रुट रहेको पदमार्ग तनहुँको गाछेपानीबाट सुरु हुन्छ । तनहुँमा पृथ्वीराजमार्ग (गाछेपानी) बाट सुरु भएको पदमार्ग स्याङ्जाको सिद्धार्थ राजमार्ग (रामबाच्छा) पुगेर टुङ्गिन्छ । पदमार्गको सुरुआत विन्दुमा मिनी मुक्तिनाथको परिचय बनाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम छ । सेती नदीको पानीको बहावले कुँदेर बनाएको ढुङ्गे बगैँचा हुुँदै पदयात्री प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको मन्दिरको दर्शनमा पुग्छन् ।

त्यसपछि उकालो चढेर रजस्थल होमस्टे हुँदै ऐतिहासिक ढोर मूलकोट दरबार घुम्छन् । ढोर लामागाउँ, घरेडीको मिलेनियम गुफा, राईपुरको जन्तेढुङ्गा तनहुँ खण्डका गन्तव्य हुन् । स्याङ्जातर्फ कोल्मा वराहचौर, बहाकोट, राङभाङ, पेल्काचौर, बानेथोक देउराली, माझकोट, शिवालय र मनकामना आसपासका पर्यटकीय स्थललाई पदमार्गले जोडेको छ । गाछेपानीबाट सुरु भएको पदमार्गको पहिलो दिन रजस्थल पुगेर बास बस्न सकिन्छ । दोस्रो दिन साँधी खोला, तेस्रो दिन पोखरीछाप, चाँैथो दिन चन्द्रकोट, पाँचांै दिन डाँडागाउँ, छैठौँ दिन सुन्तलाबारी होमस्टमा बास हुन्छ । पदमार्गले तनहुँ र स्याङ्जाका साविकका १३ गाविसको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटेको छ ।

हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर, चराचुरुङ्गी, जङ्गली जनावर र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । पदमार्गमा पर्ने बस्तीमा पर्यटकलाई कौराहा, सालैजो, झ्याउरे, झोर्रा, पेल्काचौरे ठाडो भाका, सोरठी, यानीमाया, घाटु, बालन लगायतका मौलिक लोक संस्कृतिले स्वागत गर्ने गरिन्छ ।

पदमार्गमा पर्ने बस्ती रित्तिन थालेपछि होमस्टे चलाउन मुस्किल देखेर मिलेनियम ट्रेक व्यवस्थापन समितिले तीन वर्ष अगाडि चार स्थानमा रिसोर्ट खोल्ने तयारी थालेको थियो । तनहुँको मगरनाससहित स्याङ्जाको कोल्मा, पेल्काचौर र सिगारकोटमा रिसोर्ट सञ्चालन गर्ने भनिए पनि काम अगाडि बढेको छैन् । गुरुयोजना तयार गरेपनि काम अगाडि बढाउन कोरोनाले प्रभाव पारेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया