कर्णालीको बाढी खतरा तहबाट तल झ-यो, ६ जनाको उद्धार, एकको मृत्यु

  कार्तिक ०३, २०७८

टीकापुर (कैलाली), कात्तिक ३ : टीकापुर नगरपालिका ८ कर्मीडाँडाका करबीर ढोलीको बाढीमा डुबेर मृत्यू भएको छ । प्यारालाइसिसका बिरामी ९४ वर्षका ढोलीलाई उद्धार गर्दागर्दै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

कर्णालीको पानी पसेर टीकापुर नगरपालिका ५, ७ र ८ नम्बर वडाका धेरै गाउँमा क्षति पु¥याएपछि यहाँका जनप्रतिनिधिहरुले सहयोगको अपिल गर्नुभएको छ । टीकापुर नगरपालिकाको ५, ७ र ८ का मात्रै करिब पाँचसय परिवार विस्थापित भई विद्यालय र उच्च स्थानको घरमा बसेका छन् । कैयौं मानिस आफन्तकहाँ बसेका छन् ।

नगरप्रमुख तपेन्द्रबहादुर रावलले एक अपिल जारी गर्दै पाकेको धान भित्र्याउनेबेला पूर्णरुपमा नष्ट भएकाले नागरिकको कष्टपूर्ण जीवनलाई सामान्यरुपमा फर्काउन उद्धार राहातका काम गर्नुपर्ने भएकाले स्थानीय सरकारलाई सघाउन नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्नुभएको छ । सबै सामाजिक सङ्घ संस्थालाई सहयोगका लागि पनि उहाँले अपिल गर्नुभएको छ ।

यस्तै, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा यस क्षेत्रका प्रदेशसभा सदस्य डाक्टर रणबहादुर रावलले सुदूरपश्चिम भरी बाढीको प्रभाव परेको र अन्नको भण्डार कैलालीको पूर्वी क्षेत्रमा कर्णाली पसेर तहसनहस भएकाले सबै क्षेत्रबाट सहयोगको अपिल गर्नुभयो । उहाँले कैयौं बस्ती बगेको, डुबेको, हुलाकी राजमार्ग बगाएको, धान खेती पूरै क्षति भएको अवस्थामा तत्काल उद्धार, स्थानान्तरण, खानपिनको व्यवस्थापन र पूरै घर भत्केकालाई पुनस्र्थापना गर्नुपर्ने बताउनुभयो । डा. रावलले यतिबेला राजनीतिभन्दा माथि उठेर सबै तहका सरकारले मानवीय सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।

आजै जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको बैठकले निर्णय गर्दै जिल्लास्थित सबै सुरक्षा निकाय, सेवा प्रदायक तथा दातृ संस्थाले समन्वयमा उद्धार र राहातका काम गर्ने, तत्काल क्षतिको विवरण सङ्कलन गर्ने, एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराई वितरण गर्ने र राहतका लागि सबै स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिनुभयो ।

कैलालीको पूर्वी क्षेत्रलाई बाढीले तहसनहस पारेपछि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरु टीकापुर भ्रमण गर्ने कार्यक्रम छ ।

टीकापुर नगरपालिकाको पूरै क्षेत्रमा बाढी पसेको छ । जानकी गाउँपालिका ९, ६ र ३ मा पनि बाढीले क्षति प¥याएको छ । भजनी नगरपालिकाका अधिकांश क्षेत्रमा धानबालीमा नोक्सान पु¥याएको छ । यी क्षेत्रमा कैयौं कल्भर्ट र सडक भत्काएको छ ।

टापूमा फसेकाको उद्धार
कात्तिक १ गते कर्णालीमा माछा मार्न गएको अवस्थामा बेपत्ता भएको भनिएका लम्कीचुहा नगरपालिका वडा नं ३ ढुङ्गेबजारका तीन जना जानकी गाउँपालिका ९ मा पर्ने लालमटिया टापुमा भेटिएका छन् । कात्तिक १ गते माछा मार्न गएका खडकबहादुर घर्तिमगर, विक्रम घर्तिमगर र खडक रानामगर घर नफर्केपछि उनीहरुका परिवारले कात्तिक २ गते इलाका प्रहरी कार्यालय चिसपानीमा उजुरी दिएका थिए । ¥याफ्टको सहायताले सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी माछा मार्न गएर कर्णाली नदीको टापुमा अडकिएका जानकी गाउँपालिका ९ का तीन जनालाई नेपाली सेनाको हेलिकप्टरको सहायताले उद्धार गरिएको छ । उद्धार हुनेमा जानकी गाउँपालिका ९ खैरिफाँटका प्रेम चौधरी, विष्णु चौधरी, रामदयाल चौधरी हुनुहुन्छ ।

नेपाली सेनाका पश्चिम कमाण्ड सुर्खेतका पाइलट रतन श्रेष्ठको टोलीले उद्धार गरी जानकी गाउँपालिका ९ स्थित अरुणोदय माविको प्राङ्गणमा ल्याइएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिनुभयो । तीनै जना बाढीमा फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको समन्वयमा उद्धार गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

बाढी खतराभन्दा तल झ-यो
कर्णाली नदीको बाढी खतराको तहभन्दा तल झरेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार दिउसो १ः४० बजेकोे बाढीको तह १० मिटर ४२ सेन्टिमिटरमा झरेको छ । बाढी ११ मिटर पुग्नुलाई खतराको तह मानिन्छ । राति ८ बजे बाढीको तह अधिकतम १३ मिटर १० सेन्टिमिटरमा उक्लेको थियो । पानी मापन केन्द्र चिसापानीमा बाढीको तह घटे पनि दक्षिणी क्षेत्रको बाढी र डुबान कायमै छ ।

तपाईको प्रतिक्रिया