प्रहरीको दसैँ योजना, पूराना अपराधीको निगरानीदेखि सिसिटिभि जडान

  असोज २७, २०७८

कपिलवस्तु, असोज २७ : दसैँमा हुने आपराधिक घटना निरुत्साहित गराउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विशेष टिम परिचालन गर्ने भएको छ । चाडपर्वको समयमा कपिलवस्तुको सम्वेदनशीलतालाई मध्यनजर राख्दै प्रहरीले आपराधिक घटना हुन नदिने योजना बनाएको छ । जिल्लामा साम्प्रदायिक हिन्साको जोखिम रहेको कृष्णनगर, पकडी लगायतका स्थानमा साधा पोसाकका प्रहरीले निगरानी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनुभयो ।

दूर्गा मूर्ति विषर्जनका क्रममा पटक पटक विवाद हुने गरेको क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरी निगरानी गरिएको छ । पूराना घटना हेरी मुख्य संवेदनशील मानिएका कृष्णनगरका पाँच स्थान र मर्यादपुरका दुई स्थानमा सिसिटीभी क्यामरा जोडिएको कार्कीले बताउनुभयो । यसैगरी ठूलो आवाज निकाली ध्वनी प्रदूषण गर्ने खालका डिजे समेत प्रयोग गर्न निषेध गरिएको छ ।

जिल्लाका चाडपर्वको समयमा सवारी दुर्घटना हुने, कुटपिट हुने, साम्प्रदायीक हिन्सा हुने , सीमा क्षेत्रमा लुटपाट जस्ता घटना बारम्बार हुने गरेका छन् । प्रहरीले योजनाका साथ सक्रियता बढाएर र प्रविधिको प्रयोग गरी त्यस्ता घटना हुन नदिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । प्रहरीले पूराना आपराधिक घटनामा संलग्न रहेका व्यक्तिको निगरानी बढाइएको छ ।

तपाईको प्रतिक्रिया