बर्दियाको गेरुवामा फेरि बाघकाे आक्रमण, एक युवक बेपत्ता, खोजी जारी

  असोज २५, २०७८

नेपालगञ्ज, असोज २५ : बर्दियाको गेरुवा-४ शान्तिपुर ढकुनियामा भैंसी चराई रहेका एक पुरुषलाई सोमवार अपरान्ह बाघले आक्रमण गरी जंगलमा लगेको छ । बर्दिया राष्टिय निकुञ्जले दिएको जानकारी अनुसार गेरुवा ७ शान्तिपुर ढकुनियाका स्थानीय ३७ वर्षिय जनकबहादुर थारुलाई वनमा भैंसी चराईरहेको बेला बाघले आक्रमण गरेर जंगलतर्फ लगेको सूचना आएको छ ।

नजिकैको वनमा भैंसी चराउन गएका थारुलाई बाघले झम्टेर जंगलतर्फ लगेको गेरुवा उपभोक्ता समितिका अध्यक्षले सोमवार बेलुका ५ बजे जानकारी गराएको बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले जानकारी आउने वित्तिकै निकुञ्जको बन्जरिया पोष्ट र ओखरिया पोष्टबाट ४ वटा हात्तिसहित सेनाको टोलीलाई थारुको खोजी कार्यमा लगाईएको बताउनुभयो ।

हात्ती सहितको टोलीले थारुको खोजविन गरिरहेपनि राती परेकोले खोजी कार्यमा समस्या भएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँले खोजी कार्य जारी रहेपनि थारुको अवस्था बारे केही पनि पत्ता नलागेको बताउनुभयो । गत केही समययता बाँके र बर्दिया निकुञ्ज वरिपरिका क्षेत्रमा बाघले निरन्तर मानिसमाथि आक्रमण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया