बैतडीमा खेलकूद मैदान नहुँदा सडकमै खेलाडीलाई प्रशिक्षण

  असोज १७, २०७८

बैतडी, असोज १७ : बैतडी सदरमुकाममा खेलकूद मैदान नहुँदा हिलाम्मे सडकमै भलिवल खेलाडीलाई प्रशिक्षण दिनुपर्ने बाध्यता रहेको छ । आइतवार हिलाम्मे सडकमा चिप्लेर लड्दा एक जना खेलाडीको हात भाँचिएको छ ।

असोज २० गतेदेखि सुरुहुने सुदूरपश्चिम प्रदेशस्तरीय भलिवल प्रतियोगितामा भाग लिन छनौट भएका भलिवल खेलाडीलाई प्रशिक्षण दिनेक्रममा हिलोमा चिप्लेर खेलाडी राकेश साउदको हात भाँचिएको हो । प्रदेशस्तरीय भलिवल प्रतियोगितामा भाग लिन बैतडीको सुर्नया गाउँपालिकाबाट छनौट भएका खेलाडी राकेश साउद हिलोमा चिप्लिदा बाँया हात भाँचिएको भलिवल प्रशिक्षक हरिसिंह भण्डारीले बताउनुभयो ।

जिल्ला खेलकूद विकास समितिका भलिवल प्रशिक्षक भण्डारीले भन्नुभयो, “बैतडी सदरमुकाममा एउटा पनि गतिलो खेलकूल मैदान छैन । दशरथचन्द नगरपालिका–४, स्थित वीरेन्द्र माविको साँघुरो खेलकूद मैदान चक्रपथ सडकले खाईदियो । निकै समस्या भएको छ ।”

सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन गइरहेको प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगितामा भाग लिन छनौट भएका खेलाडीलाई चक्रपथ सडकमै हिलो सफा गरेर प्रशिक्षण दिन सुरु गरिएको प्रशिक्षक भण्डारीले बताउनुभयो । खेलाडी आफैले हिलो सफा गरेर भलिवल प्रशिक्षणमा सहभागी हुँदा लडेर हात भाँचिएको खेलाडी राकेश साउदले बताउनुभयो । हात भाँचिएपछि खेलाडी साउद उपचारका लागि धनगढी जानुभएको छ ।

प्रदेशस्तरीय भलिवल प्रतियोगितामा भाग लिन गाउँपाकिला र नगरपालिकाबाट छनौट भएका खेलाडीमध्ये साउद उत्कृष्ट खेलाडी रहेको जिल्ला खेलकूद विकास समिति बैतडीले जानकारी दिएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले खेलकूद मैदान निर्माण गर्न चासो नदिएको जिल्ला खेलकूद विकास समिति बैतडीका प्रशिक्षक हरिसिंह भण्डारीले बताउनुभयो । खेलकूद मैदानका विषयमा दशरथचन्द नगरपालिकाका उप प्रमुख मीना चन्दले गत वर्ष सङ्घीय सरकारबाट बैतडीमा खेलकूद मैदान निर्माणका लागि एक करोड रुपियाँ बजेट आए पनि बजेट सदुपयोग नहुँदा खेलकूद मैदानको काम नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया