बागमती प्रदेशमा एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता : मुख्यमन्त्री शाक्य अल्पमतमा

  भदौ २८, २०७८

हेटौँडा, भदौ २७ : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले नेतृ शाक्य नेतृत्वको सरकार अल्पमत परेको हो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार प्रदेश सभा सचिवलाई शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएसँगै शाक्य नेतृत्वको एमालेको सरकार औपचारिक रुपमा अल्पमतमा परेको छ । एमालेका ५६ प्रदेश सभाका सदस्यमध्ये १३ जना नयाँ दर्ता भएको एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । राजनीनिक दलसम्बन्धी अध्यायदेशमा व्यवस्था भएअनुसार एमालेमा रहेका प्रदेश सभा सदस्यहरुलाई दल रोज्न दिएको समयमा १३ जना प्रदेश सभाका सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एकीकृत समाजवादीको संसदीय दलको बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । एकीकृत समाजवादीका नेता माधवप्रसाद पौडेलले पाण्डेलाई सर्वसम्मतमा नेता चयन गरेको जानकारी दिँदै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको निर्णय गरेको जानकारी दिनुभयो । निर्णय प्रदेश सभा सचिवालयलाई जानकारी गराएका छौ उहाँले भन्नुभयो, समर्थन फिर्तासँगै शाक्य नेतृत्वको सरकारलाई दुरगामी प्रभाव पार्ने निर्णय नगर्न भनेका छौँ । एमाले नेता शाक्य भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया