खगोल विज्ञानका विषयमा जानकारी दिन कार्यशाला एवं प्रशिक्षण

  भदौ २६, २०७८

काठमाडौँ, भदौ २६ : सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल विज्ञानका विषयमा जानकारी दिने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा कार्यशाला एवं प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आज आयोजना गरेको कार्यक्रममा सात वटा सामुदायिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका १४ जना विद्यार्थीको सहभागिता थियो । विद्यार्थीलाई पाँच समूहमा विभाजन गरी खगोल विज्ञानका बारेमा प्रयोगात्मक प्रतिष्पर्धा गराइएको थियो । यस्तो प्रक्रियाबाट शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी भएको विद्यार्थीको अनुभव छ ।

समूहमा बसेर काम गरेका विद्यार्थीमध्ये तीन जना पुरस्कृत भएका छन् । सरस्वती निकेतन माध्यमिक विद्यालय टेकुकी सुष्मा श्रेष्ठ, परोपकार आदर्श माध्यमिक विद्यालय भीमसेनस्थानका सुशान्त थापा र प्रभात माध्यमिक विद्यालय न ः घलका रोशन दुलालको समूहले उत्कृष्ट भएर पुरस्कार पाएको छ । कार्यक्रममा सहभागी विद्यार्थीद्वय सुषमा श्रेष्ठ र विजय लामाले कार्यशाला एवं प्रयोगात्मक ज्ञानबाट धेरै कुरा सिक्न सजिलो भएको बताउनुभयो ।

राष्ट्रिय विज्ञान दिवस सप्ताहव्यापी रूपमा मनाइने
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्रालयका सचिव सुरेश आचार्यले सामान्य किसिमको कार्यक्रम देखिएपनि यसको सन्देश गहन भएको बताउनुभयो । राष्ट्रिय विज्ञान दिवसको अवसरमा भदौ २८ गतेदेखि सप्ताव्यापी रूपमा कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महामारी र विपत्तिबाट लडेका बेला विज्ञानका अनुसन्धानबाट सहयोग लिएर अघि बढ्न सकिने मन्त्रालयले जनाएको छ ।

‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ आगामी असोज १ गते नवौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि भवनसमेत उद्घाटन गरिने कार्यक्रम रहेको सचिव आचार्यले सुनाउनुभयो । विज्ञानसम्बन्धी अनुसन्धानका उपलब्धिलाई उत्पादनमुखी बनाउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नीतिगत कामलाई प्राथमिकता राखेको छ ।

यस वर्ष मन्त्रालयले दिवसका अवसरमा विज्ञानका विषयमा अनुसन्धान गरिरहेका विज्ञ र उद्यमीकाबीच अन्तरक्रिया गर्न लागिएको छ । विज्ञान र प्रविधिको कूटनीतिका बारेमासमेत मन्त्रालयले छलफल अघि बढाउन लागिएको जनाइएको छ । ‘साइन्स डिप्लोमेसी फोरम’ बनाएर यो विषयलाई अघि बढाइने भएको छ ।

मन्त्रालयले विज्ञान प्रविधिमा काम गरेका सात विधालाई सम्मान गर्ने भएको छ । विज्ञान प्रविधि क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई पनि मन्त्रालयले सम्मान गर्न लागेको सचिव आचार्यले बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय स्टीम शिक्षा विभाग प्रमुख विनोदप्रसाद पन्तले विद्यार्थीलाई खोजमूलक सीपमा अघि बढाउन सके जस्तोसुकै समस्या समाधान गर्न सकिने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्टीम शिक्षाका माध्यमबाट विज्ञानका विषयमा धेरै काम गर्न सकिने भएकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

‘वल्र्ड स्पेस वीक’ का वाग्मती संयोजक श्रीति श्रेष्ठ, सोसाइटीका अध्यक्ष सुरेश भट्टराई, सोसाइटीका कार्यक्रम संयोजक मनीषा द्वा, विज्ञान शिक्षकद्वय रुपा मानन्धर र रविना महर्जनलगायतले खगोल विज्ञानका विषयमा प्रयोगात्मक कार्यक्रम अघि बढाइनुपर्ने बताउनुभयो । यस्ता कार्यक्रमलाई निरन्तरता दिइने सोसाइटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया