एनआरएनए महासचिवमा डा पौडेलको उम्मेदवारी

  भदौ २३, २०७८

बागमती, भदौ २३ : नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।

आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो पदको घोषणा गरी चुनाव प्रचारप्रसार व्यापक बनाउँदै गएका हुन् । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

एनआरएनएको महासचिव पद महत्वपूर्ण जिम्मेवारी हो । (एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा पौडेल संस्थागत विकासका लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताउनुहुन्छ । उहाँले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिन लागेको राससलाई जानकारी दिनुभयो ।

तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उहाँ विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भई बसोबास गर्दै आउनुभएको छ । सन् २०१३ देखि एनआरएनएमा आबद्ध उहाँले यसअगावै २०१३–२०१५ सम्म एनआरएनए अमेरिकाको सल्लाहकार, यसैगरी २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष र सन् २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

डा पौडेलले यस पटक एनआरएनए संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत हुनुभएको छ । अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा पौडेल नेपालमा समेत ग्रिनसिटी अस्पतालमार्फत चिकित्सा क्षेत्र आबद्ध हुनुहुन्छ । डा पौडेल चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा परिचित हुनुहुन्छ ।

डा पौडेलले वर्तमान अवस्थामा कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडाँै मूल्य बराबरको आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । डा पौडेलको अमेरिकामा चिकित्सा साथ साथै होटल व्यवसायको क्षेत्रमा समेत लगानी छ ।

आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनका दौरानमा भर्चुअलमार्फत हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलुकका तीन हजार ६०० प्रतिनिधि भर्चुअलमार्फत सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया