काष्ठमण्डपकाे छानो छाउने काम सुरु, पुनर्निर्माणमा ११ करोड ५० लाख सकियो

  भदौ २२, २०७८

काठमाडौँ,  भदौ २२ : ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुरस्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।  विसं २०७२ वैशाख १२ गते आएका विनाशकारी भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको काष्ठमण्डपको अन्य काम सकेर छानो छाउने काम सुरु गरिएको हो । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।    
    
“काष्ठमण्डप सम्पदाको पुनःनिर्माणको काम निरन्तर भइरहेको छ, सम्पदाको पुनःनिर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्न सक्छ”, उहाँले भन्नुभयो । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उहाँको भनाइ थियो । काष्ठमण्डप मुलुकको राजधानी काठमाडौँको ठूलो मौलिक सम्पदा भएकाले सातौँ शताब्दीमा बनेको काष्ठमण्डपको मौलिकतालाई बचाएर पुन ःनिर्माण गरिनु ठूलो उपलब्धि भएको अध्यक्ष शाक्यले बताउनुभयो । काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उहाँको भनाइ छ ।    
    
काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि हालसम्म रु ११ करोड ५० लाख खर्च गरिएको छ । काठमाडौँ महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनःनिर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताउनुभयो । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ । करिब रु १९ करोड लागत अनुमान गरिएको उक्त ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको काम चाँडो सक्ने गरी काम भइरहेको अध्यक्ष शाक्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया