सिमरा-पोखरा हवाई आजदेखि सेवा सुरु

  भदौ १६, २०७८

बारा, भदौ १६ : प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखरा हवाईसेवा बुधबारदेखि सुरु भएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा नेतृत्वको १८ जनाको टोलीले बुद्ध एयरको जहाजबाट सिमरा विमानस्थलमा अवतरण गरेपछि सिमरा पोखरा सिधा उडान शुरु भएको हो ।

दिगो पर्यटनका लागि हवाई कनेक्टीभिटी भन्ने मूल नाराका साथ पोखराबाट पहिलो उडान गरिएको सिमरा विमानस्थल प्रमुख बसन्त गौतमले बताउनुभयो । उहाँहरुलाई प्रदेश नं.२ का पर्यटनमन्त्री रामनरेश राय यादवले स्वागत गर्नुभएको थियो ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री शर्माले औधोगिक क्षेत्रको सिमराबाट भारतीय पर्यटकहरुका सिधै हवाई मार्गबाट पोखरा आउने भए पछि यसले पोखरामा आन्तरिक र बाहिरी पर्यटनहरुको चहलपहल बढने बताउनुभयो । गण्डकी प्रदेशसँग सिधै हवाई मार्गसँग प्रदेश २ का सिमरा जोडिएपछि यसले प्रदेश २ मा पर्यटन क्षेत्रमा पर्यटनहरुको चहलपहल बढ्ने दावी प्रदेश २ का पर्यटन मन्त्री यादवले गर्नुभयो ।

अहिले साताको आइतबार, बुधबार र शुक्रबार गरी तीन दिन दिउँसो सवा १ बजे उडान भर्ने तालिका रहेको बुद्ध एयर सिमराको स्टेशन मैनेजर सुरेशकुमार रेग्मीले बताउनुभयो । सिमरा पोखराको टिकट दर बढीमा सात हजार एक सय ७० र कम्तीमा ४ हजार सात सय ७० तोकिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया