‘नयाँ भेरियन्ट यसअघिको भन्दा जटिल र घातक छ’

  जेठ ०६, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार नेपालमा नयाँ भेरियन्ट अर्थात् ‘भारतीय भेरियन्ट’को कोरोनाभाइरस फैलिएको पुष्टि गरेको छ । कोरोना परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशत नयाँ भेरियन्टको कोरोना फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट पहिलो पटक छिमेकी मुलुक भारतमा फेला परेको हुनाले यसलाई ‘भारतीय भेरियन्ट’ पनि भनिएको हो ।

मङ्गलबार प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटा) बी १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी १.६१७.१ पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ ।

हाल नेपालमा देखिएको नयाँ भेरियन्ट कस्तो भाइरस हो ?, कुन उमेर समूहका व्यक्ति बढी प्रभावित हुन्छ ? र अघिल्लो भेरियन्टको तुलनामा यो कति घातक छ ? भन्ने विषयमा शुक्रराज  ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलासँग गोरखापत्र अनलाइनका लागि आशा साहले गर्नुभएको कुराकानीको सम्पादित अंश :

नेपालमा देखिएको नयाँ भेरियन्ट कस्तो ?
नेपाल देखिएको नयाँ भेरियन्ट अघिल्लो भेरियन्टले ल्याएको हो । यसअघिको भन्दा नयाँ भेरियन्ट जटिल र घातक छ । महामारी निम्त्याउने कुनै पनि भाइरस भेरियन्टमा परिवर्तन हुँदै आउँछ । यो नयाँ भेरियन्टको कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । यसले घेरैलाई सङ्क्रमण बनाएको छ । साथै सङ्क्रमितमा लक्षण देखिने र सङ्क्रमित मानिसलाई मृत्युवरणको मुखमा लैजानेसम्मको देखिएको छ ।

यसको मतलब अघिल्लो भेरियन्टको तुलनामो यो बढी घातक छ ?
अघिल्लो भेरियन्टको तुलनामा यो बढी घातक छ । दोस्रो चरणको भेरियन्टको कोरोनाभाइरस सङ्क्रमण भएर वृद्धवृद्धा धेरै उपचारका लागि आउनुहुन्थ्यो । तर, अहिले धेरै युवा पुस्तामा यो नयाँ भेरियन्टबाट सङ्क्रमित भएको देखिएको छ । टेकु अस्तपतालमा सिकिस्त बिरामी राख्ने ठाउँ छैन । यो हिसाबले हेर्ने हो भने पहिलाको भेरियन्टभन्दा अहिलेको नयाँ भेरियन्ट बढी घातक छ ।

तर, भनिन्छ यो भाइरसले बन्द कोठामा बसेको एउटै सङ्क्रमितले सयौं जनासम्मलाई एकै मिनेटमा यो भाइरस सार्न सक्छ, के हो खासमा ?
सङ्क्रमित व्यक्तिसँग एउटै कोठामा बस्दा सङ्क्रमितले खोक्दा, हाच्छुयूँ गर्दा अर्को व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ । किनभने बन्द कोठामा भाइरस तीन घण्टासम्म बस्न सक्छ । एयर वान भएको कारण सङ्क्रमण धेरै हुने देखिएको छ । एउटै परिवारका सबै परिवार सङ्क्रमित हुनु भनेको त्यही नै हो ।

यो नयाँ भेरियन्टले कुन उमेर समूहका व्यक्तिलाई धेरै असर गर्छ ?
यसले सबै उमेर समूहका व्यक्तिलाई असर गर्छ । ६० वर्षभन्दा माथिका नागरिकदेखि तीन–चार महिनाका बच्चासम्म सबै जनालाई असर गर्ने गर्छ । तर, यो पटक युवा पुस्ता धेरै छन् । अरु उमेर समूहका पनि सङ्क्रमित भएका छन् । तर, श्वासप्रश्वासमा समस्या देखिएकामा धेरै युवा हुनुहुन्छ । अहिले धेरै ज्येष्ठ नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको छ । यस हिसाबले उहाँहरुमा यसको असर कम हुन्छ कि भन्ने विश्वास गर्न सकिन्छ ।

अहिले देखिएको सङ्क्रमितमध्ये कति प्रतिशतमाा यो नयाँ भेरियन्ट देखिन सक्ने सम्भावना छ ?
अहिले जति पनि सङ्क्रमण देखिएको छ त्यो नयाँ भेरियन्ट नै हो ।

नयाँ भाइसरका लागि हाल विकसित खोपले काम गर्छ कि गर्दैन ?
अहिलेसम्म खोप लगाएका मानिसहरु सुरक्षित नै देखिनुभएको छ  । सङ्क्रमित भएर उपचारका लागि अस्पताल आएपछि निको भएर घर फर्किनुभएको छ । पक्कै पनि खोपले केही न केही काम गरेको छ । कामै नगर्ने होइन । कुन हदसम्म कसरी काम गर्छ भन्ने कुरा अध्ययनले भन्छ । अहिलेसम्म खोप लगाएका व्यक्ति सिकिस्त भएर आउनुभएको छैन । हामी स्वास्थ्यकर्मीलाई हेर्नु सङ्क्रामक भएर नजिकबाट बिरामीलाई जाँच गरिरहेका छौ । यस हिसाबले हेर्दा खोप प्रभावकारी नै छ ।

यसबाट बच्न थप सावधानी के अपनाउन सकिन्छ ?
अहिले विवाहको महिना भएकाले धेरै भोजभतेर हुने गर्छ । यसबाट कोरोना फैलिरेहको भन्ने समाचार पनि आइरहेका छन् । यसरी कुनै सङ्क्रमित भोजभतेरमा गएको खण्डमा उसले धेरैलाई नयाँ भेरियन्ट सार्न सक्छ । त्यसैले मास्कको प्रयोग गर्ने, भिडभाड हुने ठाउँमा नजाने, आफ्नो बानीव्यहोरा परिवर्तन गर्ने, भोजभतेर बन्द गर्ने र अनावश्यक जमघट नगर्ने आदिमा ध्यान दिने । अर्को कुरा सरकारले जतिसक्दो चाँडो सम्पूर्ण व्यक्तिहरुमा खोप उपलब्ध गराउनुपर्छ ।

तपाईको प्रतिक्रिया