प्राविधिकको अभावले सिक्टा सिंचाइ आयोजनाको काम प्रभावित

  चैत २४, २०७७

नेपालगञ्ज, चैत २४ : बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाइ आयोजनामा इन्जिनियरदेखि प्राविधिक कर्मचारीको अभावका कारण नहर निर्माणको काम प्रभावित भएको छ ।

सो आयोजनामा इन्जिनियरदेखि प्राविधिकसम्म गरेर अधिकृत तहका १६ जनाको दरबन्दी भए पनि ७ जना मात्र प्राविधिकहरु रहेकोले नहर निर्माणको काम प्रभावित हुँदै आएको आयोजनाले जनाएको छ ।

सिनियर इन्जिनियरदेखि अन्य प्राविधिकसम्म गरेर नाैँ जनाको दरबन्दी खाली रहेकोले दरबन्दी पूरा गर्नका लागि बारम्बार अनुरोध गरिए पनि पुरा नहुँदा काममा अवरोध हुँदै आएको सिक्टा सिंचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाले बताउनुभयो ।

उहाँले आधाभन्दा बढी सिनियर इन्जिनियर र अन्य इन्जिनियर लगायत प्राविधक अधिकृतहरु नहुँदा आयोजनाको शाखा नहरको निर्माण, ठेक्का पट्टा, मूल नहरको मर्मत सम्भार लगायत सबै काममा समस्या भैरहेको बताउनुभयो ।

जग्गा अधिग्रहणको काम पछि निर्माण गर्नु पर्ने संरचनाको डिजाइन इष्टिमेट तयार पार्नका लागि गर्नु पर्ने तीन जना सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी पनि लामो समयदेखि रिक्त रहेको र तीन जना अन्य इन्जिनियरको पनि दरबन्दी रिक्त रहेकोले धेरै काम अगाडी बढाउन नसकिएको आयोजना प्रमुख थापाले बताउनुभयो ।

आयोजनाका अनुसार करिब साढे ३ अर्बको लागतमा निर्माण भएको सिक्टा सिचाई आयोजनाको हेडबक्स र त्यहाँ जडान गरिएका अत्याधुनिक प्रबिधि सहितको कन्ट्रोल रुम सञ्चालनका लागि आबश्यक पर्ने मेकानिकल इन्जिनियरको दरबन्दी पनि लामो समयदेखि खाली छ ।

यसैगरि पश्चिमि मूल नहरमा पानी चलाईएपनि सिंचाइ सुविधा विस्तार भएककोले कृषि उपजहरुको उत्पादन बृद्धि बजारीकरण जस्ता काममा किसानहरुलाई सहजीकरण गर्नु पर्ने कृषि इन्जिनियर र समाजशास्त्रीको पद पनि रिक्त छ ।

चालु आर्थिक वर्षका लागि आयोजनालाई १ अर्ब ५० करोडको बजेट विनियोजन गरिए पनि कर्मचारीको अभावका कारण ५० प्रतिशत मात्रै वित्तिय र भौतिक प्रगति भएको प्रमुख थापाले बताउनुभयो ।
राष्ट्रिय गौरवको सूचीमा परेको सो आयोजनाको अनुगमनमा मन्त्रीदेखि विभागीय प्रमुखसम्म पटक पटक आउने गरे पनि दरबन्दी पूरा गर्नतर्फ कुनै ध्यान दिइएको देखिएको छैन ।
‘अपुग कर्मचारी पठाउने कुरा त छोड्नुस, भएकालाई पनि सरुवा गरेर यहाँबाट अन्यत्र पठाउने काम भैरहेको छ, कसरी आयोजनाको काम अगाडी बढाउने ? अहिलेको गम्भीर प्रश्न हो ।’—आयोजनाका एक अधिकृतको गुनासो छ ।

२०७५ सालमा केही कर्मचारीलाई अख्तियारले मुद्दा दायर गरेको र ती मुद्दाहरु अझै विचाराधीन रहेका कारण पनि सिँचाई विभागका धेरै जसो कर्मचारीहरु सरुवा भएर सिक्टामा आउन नचाहेको बताइएको छ ।
२०७७ सालमा पूरा गर्ने लक्ष्यसहित २०६२/०६३ मा शुरु भएको सिक्टा सिंचाइ आयोजनाको काम बल्लतल्ल ६८ प्रतिशत पूरा भएको छ । आयोजना शुरु हुँदा यसको लागत १२ अर्ब ७० करोडको अनुमान गरिएको थियो तर ६८ प्रतिशत काम पूरा हुँदा नै १६ अर्ब ६१ करोड खर्च भइसकेको छ ।

आयोजनाले बाँकेको ४३ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएकोमा हालसम्म १६ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुर्याएको छ ।

तपाईको प्रतिक्रिया