आयो मकै साइलेज, काँचो मकै जरादेखि शिरसम्मै विक्री

  चैत २३, २०७७

इनरुवा, चैत २३ : काँचो मकैसहित जरादेखि भेदसम्म नै एकसाथ खेतबाटै काटेर प्रसोधन गर्ने मेसिन सुनसरीको भोक्राहा नर्सिङह गाउँपालिका वार्ड न २ मा संचालनमा आएको छ । विउ राखेको दुई महिनापछिको फल्ने मकैको बोटबाट गाईबस्तुको दाना उत्पादनको लागि काट्ने गरी मकै साइलेज मैसिनको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । गाउँमा किसानहरुले उत्पादन गरेको मकैको बोटबाट गाईबस्तुको दाना र अन्य पशुको आहारा उत्पादनको लागि साइलेज मैसिनको उद्घाटन गरिएको कोलबाटै कृषि फर्मका संचालक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार गाउँका किसानहरुले मकै लगाएको ६५ दिनदेखि माथि भएको मकैको बिरुवालाई जरादेखि नै काटेर साइलेज मैसिनमा स–सानो टुक्रा तथा आकारको बनाएर पशु अहार निकाल्ने गरिएको छ । यहाँ मेसिन राखेकाले खेतमा काँचो विरुवा सहितको मकै प्रति केजी दुई रुपियाँ ५६ पैसाका दरले किसानबाट किन्ने गरेको श्रेष्ठले बताउनुभयो । गाउँमा पाकेर भित्र्याउन समस्या रहेको, हावाहरी र वर्षा पानीले क्षति गर्ने डरबाट समेत मुक्ति पाउने गरी बोटसहित मकैं विक्री हुने भएकाले भोक्राहा नरसिंहका किसानहरु एकदमै खुशी भएको स्थानीय सुरेन्द्र कुसुवाहले जानकारी दिनुभयो ।

स्थानीय मनोज मेहताका अनुसार किसानहरुलाई रोपेदेखी काट्ने वा भित्र्याउने बेलासम्ममा निकै मेहनत गरेर उत्पादन नष्ट हुने समस्यालाई समेत अन्त्य हुने गरी मकै साइलेज मैसिन आएको छ । फर्म सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा ल्याएको सानो मैसिनको क्षमता दैनिक १२–१६ टनसम्म दाना निकाल्न सकिने रहेछ । मेसिनले प्रति प्याकेज ५० देखि ५५ किलो सम्मको तयार गरिन्छ ।

श्रेष्ठले यो सानोले बजार लिए र किसानले मन पराए निकट भविष्यमा यो भन्दा पनि ठूलो मैसिन ल्याउने तयारी रहेकोे समेत जानकारी दिनुभयो । मकैबाट तयार गरेको दाना विक्री वितरणको लागि खास काठमाडौं, बुटबल, चितवन र गाउँघरमा पनि राम्रो माग रहेको श्रेष्ठले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा गाउँघरका किसानहरुले पहिलो पटक आएको मकै साइलेज मेसिन प्रविधिले किसानको मुहारमा खुशीयाली ल्याउने प्रतिक्रिया दिएका थिए ।

तपाईको प्रतिक्रिया