खोपले मृत्युदर र संक्रमण कम गर्छ तर शतप्रतिशत ढुक्क छैन

  चैत २३, २०७७

काठमाडौं, चैत २३ : राष्ट्रिय खोप कार्यक्रम शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले पहिलो चरणको कोरोना विरुद्धको खोप लगाएकाहरूमा पनि पुनः संक्रमणको सम्भावना रहेको भन्दै सतर्क रहन सबैमा आग्रह गर्नुभएको छ ।

भारतको सेरम इन्ष्चिच्यूट्बाट उत्पादित कोभिशिल्डको प्रभावकारीता ७० प्रतिशत र चीनको साइनोफर्मबाट उत्पादन गरिएको भेरोसिलको प्रभावकारीता ८० प्रतिशत छ । तर अहिलेसम्म शतप्रतिशत प्रभावकारिता रहेको खोप कुनै पनि आविष्कार भएको छैन ।

तसर्थ पहिलो खोप लगाएकामा संक्रमणको जोखिम केही मात्रामा कम हुन्छ यसकारण दोस्रो चरणको खोप लगाउन आवश्यक हुन्छ । तर दोस्रो खोप लगाइसकेकाले पनि जनस्वास्थ्यका मापदण्डहरू नअपनाए संक्रमण हुने सम्भावना र अरुलाई पनि संक्रमण सार्न सक्ने अवस्था रहन्छ । अर्थात् यो खोपले कोरोना संक्रमितमा हुने जटिलतालाई कम गर्छ र संक्रमणको फैलावटलाई कम गर्छ तर ढुक्क हुने अवस्था भने नरहेको महाशाखाका प्रमुख डाक्टर गौतमले बताउनुभयो ।

चीन सरकारबाट प्राप्त खोप चैत २५ गतेदेखि लगाइने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय खोप कार्यक्रम शाखाले जनाएको छ । पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप भने आगामी बैशाखदेखि लगाइँदैछ । पहिलो चरणमा कोभिशिल्ड लगाएकाले दोस्रो चरणमा पनि कोभिशिल्ड नै लगाउनुपर्नेछ । यसका लागि खोप कार्डको रंगहरु पनि छुट्टा–छुट्टै बनाइएको महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

हालसम्म १८ वर्षमुनिकामा भने कोरोनाविरुद्धको खोपको अभ्यास गरिएको छैन । कोभिशिल्ड र भेरोसेल दुवै खोप १८ देखि ५९ वर्षसम्मकोमा प्रयोग गरिएको छ । विश्वव्यापीरुपमा नै कोरोनाविरुद्धको खोप अभावको अवस्थामा सरकारले थप खोपको पहल पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया