औषधीय गुण भएको जङ्गली ‘महुवा’ सङ्कलनको सिजन सुरु

  चैत २२, २०७७

धनगढी, चैत २२ : औषधीय गुण भएको महुवा सङ्कलनको सिजन सुरु भएको छ । वसन्त ऋतुमा फुलेर फूल झर्न थालेपछि सङ्कलन गर्ने सिजन सुरु भएको हो । कैलालीको बसन्ता करीडोरमा प्रशस्त मात्रामा पाइने महुवालाई स्थानीयले सङ्कलन गर्न थालेका छन् ।

जङ्गल आसपासमा बसोबास गर्दै आएका स्थानीय समुदायले महुवाबाट सुगन्धित मदिरा बनाउने गरेका छन् । सिजन सुरु भएपछि स्थानीयबीच महुवा सङ्कलनको होडबाजी नै सुरु भएको कैलारी गाउँपालिका–७ का स्थानीय हरिराम चौधरीले बताउनुभयो । ‘मान्छेहरु महुवा बटुल्नका लागि विहानै जङ्गल पुग्ने गरेका छन्’, उहाँले भन्नुभयो । ‘हामीले यसलाई रक्सी बनाउनका लागि उपयोग गर्दै आएका छौं ।’

महुवाबाट औषधिसमेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमामात्रै सीमित रहेको जनाइएको छ । स्थानीयले आफूले रक्सी बनाउनमात्रै सिकेकाले त्यसकै लागि महुवा बटुल्ने गरेको स्थानीय दशीराम चौधरीले बताउनुभयो । ‘हुन त यो औषधिको काम गर्ने जडीबुटी हो भन्छन्’, उहाँले भन्नुभयो । ‘तर, गाउँघरमा यसको प्रयोग केवल रक्सी बनाउनमात्रै सीमित छ ।’ महुवाको रक्सी स्वादिलो हुने गरेकाले धेरैले मन पराउने गरेको चौधरीले सुनाउनुभयो ।

पछिल्लो समय थारु समुदायले विभिन्न ठाउँमा होमस्टे सञ्चालन गरेका छन् । होमस्टेमा आउने पाहुनाहरुले महुवाको रक्सी रुचाउने गरेकाले स्थानीयले सङ्कलन गरेका महुवा होमस्टे सञ्चालकले पनि खरिद गर्ने गरेका छन् । यसैगरी, विभिन्न चाडपर्वका बेला घरमा आएका पाहुनालाई खुवाउनका लागि घरमै रक्सी बनाइने गरेको चौधरीले जनाउनुभयो ।

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका वृक्षको फूल हो । बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ । झरेको फूललाई सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गरेको स्थानीयले जानकारी दिएका छन् । महुवा शक्तिवर्धक जडीबुटी रहे पनि यसको वैज्ञानिक खोज तथा अनुसन्धान हुन नसक्दा यो त्यत्तिकै खेर गइरहेको कतिपयको बुझाइ छ ।

यसको सहि सदुपयोग गर्न सकेमा एउटा राम्रो आम्दानीको स्रोत बन्न सक्ने डा. मुकेशकुमार चालिसे बताउनुहुन्छ । उहाँले सही सदुपयोग हुन नसकेर बर्सेनि महुवा खेर गइरहेको उल्लेख गर्नुभयो । ‘तराईवासीले परम्परागत रुपमा यसको रक्सी बनाउन सिकेकाले यो केवल रक्सी बनाउनमामात्रै सीमित छ’, उहाँले भन्नुभयो । ‘महुवाको पनि औषधि बन्न सक्थ्यो । तर, यसबारे वैज्ञानिक अध्ययन अनुसन्धान भएन ।’

तपाईको प्रतिक्रिया