राष्ट्रकविको जन्मस्थानमा एकीकृत भौतिक विकासको खाका तयार

  चैत १८, २०७७

बाहुनडाँडा (लम्जुङ), चैत १८ : मस्र्याङ्दी गाउँपालिका तथा विभिन्न सामाजिक संघसंस्थाको संयुक्त पहलमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थान बाहुनडाँडा (पुस्तुन) मा एकीकृत भौतिक विकासको खाकातयार गरिएको छ ।

मस्र्याङ्दी गाउँपालिका, ठाडोभाका लोककला प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (नेपाल च्याप्टर) को आयोजनामा पुस्तुनमा आयोजित तीनदिने ‘साहित्यका लागि पर्यटन काव्ययात्रा’ कार्यक्रममा यस्तो खाका तयार गरिएको हो ।

खाकामा मस्र्याङ्दी गाउँपालिका विभिन्न वडा, राष्ट्रकवि माधव घिमिरे स्मृति प्रतिष्ठान, विभिन्न होमस्टे, आमा समूह, राजनीतिक दल तथा स्थानीय सामाजिक संस्थाहरूले एकीकृत विकास कार्यक्रममा सक्रिय सहभागिताको प्रतिवद्धता व्यक्त गरेका छन् ।

संविधानसभा सदस्य जमिन्द्रमान घलेले राष्ट्रकविको स्मृतिमा पैदलमार्ग, पर्यटकीय स्थल निर्माण, पुस्तकालय, बगैँचा, सामुदायिक भवनलगायतको संरचना निर्माण गरेर बाहुनडाँडा क्षेत्रको एकीकृत विकास गर्न गुरुयोजना बनाउनु पर्ने बताउनु भएको छ ।

काठमाडौँ–तराई क्षेत्रबाट लमजुङ तथा मनाङ जाने प्रचलित पैदलमार्ग सडक निर्माणसँगै ओझलमा परेको उल्लेख गर्दै उहाँले पैदल मार्गलाई पुनर्जीवन दिएर एकीकृत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आफूले प्रदेश तथा सङ्घीय सरकारका विभिन्न निकायसँग समन्वय गरेर यस क्षेत्रका एकीकृत विकासका लागि काम गरिरहेका जानकारी दिदै आगामी वर्ष राष्ट्रकविको प्रतिमा राखिने, उहाँको नाममा वाचनालय बनाइने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यस्तै ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष वनराज पहाडीले लम्जुङ–तनहुँ–कास्कीमा प्रचलित पुरानो पदैलमार्गलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे, आदिकवि भानुभक्त आचार्य र कविशिरोमणि लेखनाथ पौडेलको नाममा वृहत् पर्यटकीय पदैलमार्ग बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

अनेसास (नेपाल च्याप्टर) की अध्यक्ष सन्ध्या पहाडीले साहित्य र पर्यटनलाई जोडेर मौलिक विकासका लागि बाहुनडाँडा उपयुक्त स्थल हुने विचार व्यक्त गर्नुभयो । राष्ट्रकवि माधव घिमिरे स्मृति प्रतिष्ठनका अध्यक्ष लोकनाथ घिमिरेले राष्ट्रकवि स्वयम्ले उपलब्ध गराउनु भएको उहाँको नामको जग्गामा विभिन्न संरचना निर्माण गरिने तयारी थालिएको बताउँदै सबै क्षेत्रको सहयोगमा बाहुन डाँडालाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना स्पष्ट गर्नुभयो ।

तीनदिने कार्यक्रमको अन्तिम दिन मस्र्याङ्दी गाउँपालिका–५ ढुङ्गे बँगौचामा आयोजित विशेष कार्यक्रमले तय गरेको नौ बुँदे ‘साहित्यिक पर्यटन काव्ययात्रा घोषणापत्र’ जारी गर्दै अनेसासको केन्द्रीय महासचिव ऋषभदेव घिमिरेले विभिन्न निकायसँगको सहकार्यमा घोषणपत्रका कार्यन्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मस्र्याङ्दी गाउँपालिका–५ का वडाअध्यक्ष लेखमान गुरुङले यस क्षेत्रमा विद्यमान साँस्कृतिक तथा पर्यटकीय सम्पदालाई साहित्यिक गतिविधिमार्फत् उजागर गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पूर्वी लमजुङलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे, वरिष्ठ भूगोलविद् डा. हर्कगुरुङ, नेपाली राष्ट्रिय झण्डाका प्रवर्तक कुश्माखर घिमिरेजस्ता व्यक्ति व्यक्तित्वका नाममा पहिचान दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया