निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड निकासा

  फागुन १९, २०७७

काठमाडौं, फागुन १९ : अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्व आठ करोड ५३ लाख २३ हजार रुपियाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनको दायित्व भुक्तानीका लागि सो रकम निकासामा स्वीकृति दिनुभएको अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सो रकममा स्वीकृति दिने निर्णय भएको उहाँले बताउनुभयो । स्थानीय तहको सबै वडाहरुमा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसाथ दुई हजार ६२६ वटा वडामा स्वास्थ्य सेवा केन्द्र निर्माणको चरणमा छन् । अर्थमन्त्रालयका प्रवक्ता सुमन दाहालले चालु आर्थिक वर्षमा केन्द्र निर्माणका लागि चार अर्व २० करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

त्यसमध्ये दुई अर्व ६९ करोड २८ लाख ५८ हजार रुपियाँ निकासा भइसकेको उहाँले जानकारी दिनुभयो । प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत अर्थ मन्त्रालयले ५७ अर्व ९७ करोड रुपियाँ बरावरको स्रोत सुनिश्चित गरेको बताएको छ । सोहीअनुसार गत मंसिर १५ गते ३०९ स्थानीय तहमा एकै दिन आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

तपाईको प्रतिक्रिया