काठमाडौँ, फागुन १७ : विभिन्न १३ वटा पत्रकार संघसंगठनले आसन्न निर्वाचनमा नेपाल पत्रकार महासंघलाई साझा संगठन बनाउन आग्रह गरेका छन् ।
आज १३ वटै संघसंगठनले विज्ञप्ति निकाल्दै महासंघलाई साझा बनाउन बनाउन सबै संघसंगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सवै संगठनलाई प्रतिबद्धताका लागि आह्वान गर्ने निर्णय गरेका छन् ।
विज्ञप्तिमा महासंघको आसन्न निर्वाचबाट संघ, प्रदेश र जिल्लामा विचार आस्थासहित उत्पीडित क्षेत्र, लैंगिक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको सुनिश्चितता गर्न दबाबसहितको राष्ट्रिय अभियान चलाउने जनाइएको छ ।
विज्ञप्तिमा महासंघलाई श्रमजीवी पत्रकार र स्वरोजगारकर्मीको अभिभावक संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने, साना तथा स्वरोजगार मिडिया र न्यू मिडियाको सरक्षण र प्रवद्र्धनमा निर्णायक भूमिका खेल्ने, श्रमजीवी पत्रकारको पेशागत, भौतिक, सामाजिक एव अर्थ सुरक्षाका लागि महासंघको जारी आन्दोलनलाई अझ उन्नतस्तरमा उठाउन सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सवै संघसंगठनसँग दीर्घकालीन सहकार्य गर्दै दबाबमुलुक अभियान चलाउने निर्णय गरेको छ ।
यस्तै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, नागरिकका राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारको सुनिश्चिता, मिडियामैत्री कानून निर्माण र श्रमजीवीमैत्री ऐन बनाउन एवं सञ्चार क्षेत्रलाई पारदर्शी, आत्मनिर्भर र विश्वसनीय बनाउन पहल गर्ने भएको छ ।
विज्ञप्ति जारी गर्नेमा राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष विनोद पहाडी, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर विक, जागरण मिडिया सेन्टरका अध्यक्ष रेमवहादुर विक, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल लगायतका संघसंगठन रहेका छन् ।