ऋण सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

  फागुन १३, २०७७

काठमाडौँ, फागुन १३ : नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल बैंकर्स सङ्घकाबीच लघु, घरेलु, साना तथा मझौला उद्यमको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैंकर्स सङ्घका अध्यक्ष भुवनकुमार दाहालबीच आज हस्ताक्षर भएको हो । दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंक र साना तथा मझौला उद्यमबीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ समाधान गर्दै सहजीकरण गरिनेछ । त्यसका लागि केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने तथा कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझाव तर्जुमा गर्ने भएका छन् । महासङ्घका अध्यक्ष गोल्छाले मुलुकभित्र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

बैंकर्स सङ्घका अध्यक्ष दाहालले साना तथा मझौला उद्यमको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गौरवान्दित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दुवै संस्था समृद्धिका असल साझेदार हौँ । हामीबीचको सहकार्य निरन्तर अगाडि बढ्ने बताउँदै अध्यक्ष दाहालले हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौँ ।”

हाल मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैंकिङ पहु“च विस्तार भइसकेको छ । महासङ्घको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महसुस गर्ने धारणा राख्नुभयो । अन्तरराष्ट्रिय श्रम सङ्गठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले साना तथा मझौला उद्यमका लागि ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको नै भएकाले यो समझदारी आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया