एपीएफले दुई खेलअगावै लिग उपाधि जित्यो

  फागुन ०५, २०७७

काठमाडौं, फाल्गुन ५ : नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको छ । राष्ट्रिय महिला लिग अन्तगर्त बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १–१ को बराबरीमा रोकेको हो ।

विभागीय दुबै टोलिले लिगको आफ्नो दोस्रो अन्तिम खेल बराबरी खेल्दा अर्को विभागीय टोलि सशस्त्र प्रहरी बल(एपीएफ)ले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि जितेको छ । एपीएफले १० खेलबाट ३० अङ्क बटुलेको छ ।

दोस्रो स्थानको त्रिभुवन आर्मीले भने ११ खेलबाट २६ अङ्क बटुलेको छ । अन्तिम खेलमा आर्मीले जित हात पारेको अवस्था र एपीएफले बाँकीको आफ्नो दुबै खेल गुमाएको अवस्थामा पनि आर्मीभन्दा शीर्षस्थानको एपीएफको एक अङ्क बढी रहनेछ ।  त्यस्तो अवस्थामा समेत एपीएफलाई आर्मीले उपाधि उचाल्नबाट रोक्न पाउने छैन ।


अत्यन्तै रोमाञ्चक स्पर्धामा नेपाल पुलिसका लागि अमृत जैसीले सुरुवाती गोल गर्दै त्रिभुवन आर्मीमाथि १–० को अग्रता दिलाउनुभयो । उहाँले हेडमार्फत गर्नुभएको प्रहार विमला विकलाई छुँदै आर्मीको पोष्टको दिशा लियो । उहाँले १७ औं मिनेटमा नै पुलिसलाई अग्रता दिलाउनुभयो ।

पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको नेपाल पुलिसले उक्त अग्रतालाई दोस्रो हाफमा कायम राख्न सकेनन । दोस्रो हाफमा ५३ औं मिनेटमा नै रश्मि घिसिङ्गले बराबरी गोल गर्दै आर्मीलाई खेलमा फर्काउनुभयो ।

नेपाल पुलिसले थपिएको समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा ऊ बराबरीमा चित्त बुझायो । घिमकुमारी गुरुङगले गर्नुभएको पेनाल्टी प्रहार बारलाई छुँदै उछिट्टिन पुग्यो ।

तपाईको प्रतिक्रिया