भागरथी हत्या प्रकरणमा एउटै विद्यालयमा पढ्ने छिमेकी किशोर पक्राउ

  फागुन ०५, २०७७

काठमाडौं, फागुन ५ : बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको प्रहरीले बताएको छ । प्रहरीसमक्ष आरोप स्वीकार गरेका उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

हत्या र बलात्कार प्रकरणमा समातिएका किशोर भागरथी अध्ययनरत सनतान धर्म माविकै विद्यार्थी हुन् । पारिवारिक रिसईबीका कारण भागरथीको हत्या गरेको ती युवाले प्रहरी समक्ष बयान दिएका छन् । पक्राउ परेका किशोरको गतिविधि शंकास्पद रहेको भागरथीका आफन्त शिवराज भट्टले बताए ।

स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथी माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय गएकी थिइन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया