बुटवलको जनसभा ऐतिहासिक हुन्छ : पोखरेल

  माघ ३०, २०७७

रुपन्देही, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताउनुभएको छ ।

सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उहाँले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पार्नुभयो । फागुन १ गते आयोजना गर्न लागिएको जनसभा ऐतिहासिक हुने दाबी गर्दै उहाँले जनमत प्रकट गर्ने कुरा आन्दोलन नभई राष्ट्र निर्माणको अभियान भएको तर्क गर्नुभयो ।

जनसभाबारे जानकारी दिन नेकपा प्रचार विभागले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका प्रदेश इञ्चार्ज पोखरेलले जनताको समर्थन र जनताको अपेक्षा के छ भन्नेबारे जनसभाका माध्यमबाट जनतालार्ई सुनाउन चाहेको बताउनुभयो ।

प्रधानमन्त्रीलाई कमजोर पार्ने षड्यन्त्र भएकाले जनतामा जानु परेको बताउँदै नेता पोखरेलले प्रतिनिधिसभा विघटन विवादका विषय नभई विवादको परिणाम भएको स्पष्ट पार्नुभयो । “प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न चुनावमा जान आवश्यक परेको हो”, लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “प्रतिनिधिसभा विघटन परिस्थितिको बाध्यताका रुपमा रह्यो ।” निर्वाचनबाटै अहिलेको राजनीतिक संकट हल हुने उहाँको भनाइ छ ।

२०५२ फागुन १ गते माओवादीका तर्फबाट जनयुद्धको थालनी भएकाले त्यो दिन नेपालको राजनीतिमा विशिष्ट भएको उल्लेख गर्दै पोखरेलले सोही दिन बुटवलमा पूर्वजनमुक्ति सेनाको भेलासमेत आयोजना गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उक्त जनसभामा दुई लाखको जनसहभागिता रहने पोखरेलले दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया